नेतृत्व टुङ्गो लगायो समावेशी प्यानलले
Sunday, July 23rd, 2023, 9:01 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, ७ साउन
भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलले शिर्ष पदाधिकारीको बारेमा टुङ्गो लगाएको छ । आइतबार नेकपा एमाले र माओवादी केन्द्र निकट व्यवसायीहरुबिच निर्वाचनमा सहकार्य गर्ने बारेमा सहमती भएको छ ।
जस अनुसार अब समावेशी प्यानलबाट एमाले, माओवादी, जसपा र राप्रपा निकट व्यवसायीहरुले मिलेर निर्वाचनमा भाग लिनेछन् ।
कांग्रेस निकट प्रजातान्त्रिक उद्योग व्यवसायी संघसँग पदको विषयमा सहमति नभएपछि एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले समावेश प्यानलसँग सहकार्य गर्ने निर्णय गरेको हो ।
समावेशी प्यानलबाट अध्यक्ष र उद्योग तर्फको उपाध्यक्ष माओवादी निकट उद्योगी व्यवसायी संघ बाँकेले पाउने भएको छ ।
एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले वाणिज्य तर्फको उपाध्यक्ष र महासचिव पद पाउने सहमति भएको छ । कोषाध्यक्ष राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक व्यवसायी संगठन बाँके र उप–महासचिव जसपा निकट समाजवादी उद्योग वाणिज्य संघ बाँकेका सदस्यलाई दिने सहमति भएको समावेशी प्यानलका एक पदाधिकारीले कालपृष्ठ दैनिकलाई बताए ।
उनका अनुसार अब छिटै अन्य पदाधिकारी र सदस्यहरुको बारेमा छलफल गर्दै औपचारिक रुपमा उम्मेदवारको बारेमा घोषणा गर्ने तयारी सुरु भएको छ ।
आइतबार भएको सहमति अनुसार अध्यक्षमा टंक धामी, उद्योग तर्फको उपाध्यक्षमा चिरिञ्जीवी ओली, वाणिज्य तर्फको उपाध्यक्षमा हरिलाल न्यौपाने र महासचिवमा भीम रानाभाट उम्मेदवार बन्ने करिब पक्का भैसकेको छ । अध्यक्षमा टंक धामी र प्रजातान्त्रिक उद्योग व्यवसायी संघका उम्मेदवार ललित रौनियारबिच प्रतिस्पर्धा हुने करिब पक्का भएको छ । प्रजातान्त्रिक व्यवसायी संघले अध्यक्ष बाहेक पदको बारेमा अझै आधिकारिक रुपमा निर्णय गरेको छैन ।
आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको तयारीमा व्यवसायिहरु होमिसकेका छन् ।
सुरुआती चरणमा एमाले र कांग्रेस निकट व्यवसायी बिच सहकार्य गर्ने भनेर गृहकार्य भएको थियो । तर आधिकारिक निर्णय हुन अघि पदको विषयमा समहत हुन सकेको थिएन । एमाले निकटका व्यवसायिले भदौंमा हुने निर्वाचनमा वाणिज्य र उद्योग तर्फको दुई उपाध्यक्ष र महासचिव पद आफुहरुले पाउनु पर्ने दाबी गर्दै आएका छन् । महासचिव पद दिन कांग्रेस निकट व्यवसायी सहमत हुन नसकेपछि कांग्रेस र एमालेबिचको सहकार्य नजिक पुगेर पनि असफल भएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको यसअघिको निर्वाचनमा कांग्रेस र राप्रपा निकटका व्यवसायी मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । जुन समुहबाट ललित रौनियारले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । अर्को तर्फ माओवादी, एमाले सहितको समावेशी टिमबाट उम्मेदवार बनेका अब्दुल वाहिद मन्सुरी चुन्ना निर्वाचनमा विजयी भएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपा निकट व्यवसायिको प्रभाव रहने गरेको छ । तर यसपटक प्रमुख राजनितिक दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यवसायिहरुको समुह पनि निर्वाचनमा निर्णायक शंक्तिका रुपमा देखिने सम्भावना रहेको छ । स्वतन्त्र समुहले कसलाई समर्थन गर्ने भन्ने बारेमा अझै आधिकारिक रुपमा घोषणा भएको छैन ।
यसपटकको निर्वाचनमा अघिल्लो निर्वाचन भन्दा करिब आधा मतदातासँग बढेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार भदौं २ गते हुने निर्वाचनमा करिब ५ हजार जति मतदाताले निर्वाचनमा आफनो मत प्रयोग गर्दैछन् । तर मतदाताको बारेमा भदौं १० गते सम्म टुङ्गो लाग्ने सम्भावना छ । नेपालगन्ज उद्योग वाणिज्य संघको दर्ता शाखाका अनुसार केहि फर्महरु दोहोरिएकोले त्यसको बारेमा छानबिन भैरहेको छ ।