ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, ३४ घाइते
Sunday, July 23rd, 2023, 9:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ साउन
अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।अन्य ३४ जना घाइते भएका छन् । घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट मलामी बोकेर बेलखेततर्फ जाँदै गरेको से १ त ६७५६ नम्बरको ट्रयाक्टर मध्यपहाडी लोकमार्गअन्तर्गत कालिकास्थानमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ३४ जनामध्ये २४ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।
गम्भीर घाइते पञ्चदेवल विनायक नगरपालिका– ६ का १५ वर्षीय लोकेन्द्र विक र ११ वर्षीय दमन विकलाई नेपालगन्ज रिफर गरिएको छ । पञ्चदेवल विनायक नगरपालिकाकै वडा नम्बर ६ का १६ वर्षीय खम्ब विकलाई अछामको बयलपाटा अस्पताल लगिएको छ । घाइते ७ जना भने विनायकमै सामान्य उपचार गरी घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार मंगलसेनमा उपचार गराइरहेका २४ जना खतरामुक्त छन् । विनायकदेखि बेलखेत जाने क्रममा घुम्तीमा मोड्ने क्रममा ट्रयाक्टरको ट्रलीले लोड धान्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ ।