अब भेरी अस्पतालमै हुने भयो एमआरआई
Tuesday, July 25th, 2023, 8:13 pm
Kalpristha
‘विरामीको स्वास्थ्य उपचार तथा सेवा प्रवाहका निमित्त यो ठुलो उपलब्धि हो । अस्पतालमा न्यूरोसर्जरी, आर्थोस्कोपी लगायत विभिन्न विशिष्टकृत सेवा सुरु भैसकेको परिप्रेक्ष्यमा यो सेवाको उपलब्धता बिरामीको रोगको निदान तथा उपचारमा कोशेढुंगा साबित हुनेछ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ साउन
नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । चिकित्सा विज्ञानको क्षेत्रमा एमआरआईको प्रयोग र उपयोगिता बढ्दै गइरहेको एवं नविनतम प्रविधिहरु नेपालमा भित्रिरहेका बेला नेपालगन्जको भेरी अस्पतालमा समेत झण्डै २४ करोड मूल्य पर्ने विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्रि टि एमआरआई मेसिन नेपालगन्ज आइपुगेको हो ।
नेपालगन्जका अन्य निजि ल्याबमा एमआरआई गर्दा १० हजार देखी ४० हजार सम्म लाग्ने गरेको छ । तर अब भेरीमा एमआरआई मेसिन संचालनमा आएपछि सस्तो मुल्यमा बिरामीले एमआरआई गर्न पाउनेछन् । भेरी अस्पतालले बजारको मुल्यको अध्ययन गरेपछि मात्र एमआरआई शुल्क निर्धारण गरिने जनाएको छ ।
१८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआई मेसिनका लागि डेढ बर्षअघि खुल्ला टेण्डर मार्फत एलसी गरिएको थियो । जर्मनीबाट ल्याइएको एमआरआइ मेसिन जुलाई १७ मा काठमाडौं झारिएको थियो ।
एमआरआई आधुनिक चिकित्सा विज्ञानमा अभिन्न प्रविधिको रुपमा स्थापित भइसकेको प्रविधि हो । विभिन्न रोग तथा अवस्थाहरुको सुक्ष्म एवं सटिक चित्रण र निदानका लागि प्रयोग गरिने यो उपकरण अत्याधुनिक एवं निरन्तर परिष्कृत प्रविधिमा आधारित उपकरण हो ।
अहिले नेपाल मै पनि उल्लेख्य संख्यामा एमआरआई मेसिनहरु प्रयोगमा रहेका छ्न । यद्यपी, नेपालका सरकारी अस्पतालमा भएका एमआरआई मेसिनहरु भन्दा भेरी अस्पतालमा आईपुगेको सो मेसिन अँझ गुणस्तरिय र विशिष्ट क्षमता भएको भेरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बद्री चापागाँई बताउँछन् ।
उनि भन्छन्,–‘एक त नेपाल मै पनि एकदमै कम सरकारी अस्पतालहरुमा एमआरआई मेसिन छन् । त्यसमा पनि यो मेसिन अनुसारको विषेशता र क्षमता भएका मेसिन त सायदै छन् होला ।’
पश्चिम नेपालकै रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा मेसिन आईपुगेसँगै बर्षौदेखिको पहलले सार्थकता पाएको हो । सो मेसिन जडानका लागि आवश्यक अन्य सामान समेत आइपुगेको अस्पतालले जनाएको छ ।
मंगलबारदेखि नै मेसिनको इन्स्टलेसन सुरु भएका जानकारी दिंदै भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईले भने,–‘हामी केहि हप्ता मै मेसिन सन्चालनमा ल्याउने छौं । यो मेसिन स्नायु सम्बन्धि नशा मस्तिष्क र सुसुप्ना तथा शरीरको कुनैपनि तन्तुको रोग निदान गर्नमा एउटा प्रभावकारी माध्यम बन्न सक्छ । चिकित्सा विज्ञानको आधुनिकिकरणसँगै विभिन्न विधामा विशिष्टिकृत खालका चिकित्सकको ज्ञान तथा चिकित्सकिय पद्वतिको सम्बोधन र उपयोगिताका लागिपनि यस किसिमका जटिल खालका निदानात्कम सेवाहरु महत्वपुर्ण हुने गर्छन् । यस मेसिनले पनि रोग पहिचानमा निक्कै सहयोग दिने छ ।’
भेरी अस्पतालमा आईपुगेको सो मेसिन निजि क्षेत्रलाई किन्न गाह्रो हुने बताउँदै डा. चापागाईले स्वास्थ्य क्षेत्रमा यति ठुलो पुँजीगत लगानीहरु सरकारले नै लगाउनु पर्ने बताए । यस्ता कुरामा नाफा नोक्सानको भन्दा पनि विरामीको उपचार र सेवा महत्वपुर्ण हुने उनको भनाई थियो ।
‘बिरामीको स्वास्थ्य उपचार तथा सेवा प्रवाहका निमित्त यो ठुलो उपलब्धि हो । अस्पतालमा न्यूरोसर्जरी, अर्थोस्कोपी लगायत विभिन्न विशिष्टकृत सेवा सुरु भैसकेको परिप्रेक्ष्यमा यो सेवाको उपलब्धता बिरामीको रोगको निदान तथा उपचारमा कोशेढुंगा साबित हुनेछ ।