प्रजातान्त्रिक व्यवसायीको सचिवालय उद्घाटन
Tuesday, July 25th, 2023, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ९ साउन
आगामी भदौं २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरेर प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्ज, बाँकेको सचिवालय उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अच्युत प्रसाईले मंगलबार सचिवालयको उद्घाटन गरे । नेपालगन्ज न्युरोड भानुभक्त चोक नजिकै रहेको सचिवालयको रिबन काटेर उद्घाटन गरेका प्रसाईले प्रजातान्त्रिक समुहका उम्मेदवारलाई विजयी गराउन आम मतदातालाई अपिल गरे ।
नेपालगन्जका आम व्यवसायीको समुन्नतीका लागि ललित कुमार रौनियार नेतृत्वको समुहलाई विजयी गराउन सबैले मेहनत गर्नु पर्ने प्रसाईले बताए । नेपाली जनताको अधिकारलाई स्थापित गराउन उद्योग वाणिज्य संघले सधै अग्रपंक्तिमा उभिएर न्यायको पक्षमा संघर्ष गरेको इतिहासलाई थप बलियो बनाउन आवश्यक रहेको पुर्व अध्यक्ष प्रसाईले बताए । उनले भने, ‘उद्योग वाणिज्य संघ जनताको विश्वास र भरोसा भएको सगठन हो । यसले नेपाली जनताको हक हित र परिवर्तनका पक्षमा सधै वकालत गर्दै आएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले आम व्यवसायिकका समस्यालाई सम्बोधन गर्दै आफ्नो गरिमा उच्च बनाउनु पर्छ । नेपाली कांग्रेसका सम्पुर्ण नेता कार्यकर्ताले एक जुट भएर प्रजातान्त्रिक समुहका उम्मेदवारलाई विजयी गराउन मिहिनेत गरे सफलता हासिल गर्न सकिन्छ ।’
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बाँके उप–सभापति गोपाल प्रसाद अधिकारीले पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको आर्थिक संकटसँग जुध्नका लागि उद्योग वाणिज्य संघको नेतृत्वले जिम्मेवार भएर काम गर्नु पर्ने आवश्यकता रहेको बताए । त्यसका लागि ललित रौनियारको प्रजातान्त्रिक समुहलाई विजयी गराउन अधिकारीले अपिल गरे ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहमा रहेका नेताहरु, प्रजातान्त्रिक व्यवसायी संघमा आवद्ध उद्योगी, व्यवसायी, स्वतन्त्र उम्मेदवार, राप्रपा नेपाल निकटका व्यवसायी, पत्रकार, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, पुर्व अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
भदौं २ गते हुन लागेको संघको निर्वाचनमा नेपाली कांग्रेस निकट प्रजातान्त्रिक व्यवसायी संघले स्वतन्त्र उम्मेदवार, कमल थापा निकट राप्रपा नेपाल लगायतको समुहसँग सहकार्य गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापा अनुसार संघले केहि दिनभित्र अध्यक्ष बाहेकका अन्य उम्मेदवारहरुको नामावली घोषणा गर्ने तयारी भैरहेको छ ।