स्प्रिङ डेलद्वारा हुम्लाको स्कुललाई डेस्कबेन्च सहयोग
Tuesday, July 25th, 2023, 8:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ साउन
स्प्रिङडेल एकेडेमी नेपालगन्जले हुम्लाको जनप्रकाश माध्यमिक विद्यालयलाई डेस्क बेन्च सहयोग गरेको छ ।
हुम्लाको ताँजाकोट गाउँपालिका–१ काँडागाउँमा रहेको जनप्रकाशलाई स्प्रिङडेलले करिब साढे तीन लाख रुपैयाँ भन्दा बढीका ६० थान डेस्क बेन्च सहयोग गरेको हो ।
स्प्रिङ डेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद न्यौपानेले मंगलबार नेपालगन्जको कारकाँदोस्थित विद्यालय परिसरमा जनप्रकाश माविका प्रधानाध्यापक दलपति खड्कालाई डेस्कबेन्च हस्तान्तरण गरेका हुन् ।
गत वर्षको भदौमा बाढी पहिरोबाट विद्यालय भवन र फर्निचर बगेको खबर मिडियाबाट थाहा पाएपछि सहयोग गर्न नेपालगन्ज डाकेको विद्यालयका प्राचार्य शरद चन्द्र रावलले बताए । नेपालगन्जको विद्यालयबाट डेस्क बेन्च सहयोग पाएपछि पठनपाठनमा सहज हुने विद्यालयका प्रअ खड्काले बताए ।
विद्यालयका प्राचार्य शरद चन्द्र रावलले सञ्चालन गरेको उक्त कार्यक्रममा सह–प्राचार्य बिना सिंहले स्वागत मन्तव्य व्यक्त दिएकी थिइन् । साथै प्राचार्य शरद चन्द्र रावलले विद्यालय पढाइका साथसाथै सामाजिक कार्यमा सदैव दत्तचित भएर लागिपरेको बताए ।
उक्त कार्यक्रममा जनप्रकाश माध्यमिक विद्यालय काँडागाउँ, हुम्लाका प्राचार्य दलपति खड्काले आफ्नो विद्यालयको समस्याबारे उक्त कार्यक्रममा बताएका थिए । कार्यक्रममा सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।