डोल्पामा ट्राफिकले उठायोे ११ लाख ३१ हजार
Wednesday, July 26th, 2023, 8:36 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १० साउन
पछिल्लो समय डोल्पामा सवारी दुर्घटना न्यूनीकरण हुदैं गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयले विभिन्न समयमा संचालन गर्दै आएको सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना चालकलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षणका साथै सवारी चेक जाँचलाई कडाई गरेपछि सवारी दुर्घटनामा कमि आएको हो ।
जिल्लामा ०७५ माघ २८ मा जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरि अस्थाई ट्राफिक कार्यालय स्थापना भएकोमा ०७८ साउन १ गतेबाट स्थायी ट्राफिक कार्यालय स्थापना भएको थियोे ।
जिल्ला ट्राफिक कार्यालय डोल्पाका अनुसार १० जनाको दरवन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा हाल १ जना असाई १ जना वरिष्ठ हवलदार १ जना सहायक हवलदार सहित ५ जना प्रहरी जवान गरेर ८ जना कार्यरत छन् ।
जिल्ला ट्राफिक कार्यालयका निमित्त इन्चार्ज बरिष्ठ प्रहरी हवलदार विमान तामाङ्गका अनुसार आर्थिक वर्ष ०७९÷०८० मा सवारी कारवाहिबाट मात्र ११ लाख ३१ हजार ५ सय रुपैयाँ राजस्व उठेको छ ।
आर्थिक वर्ष ०७५–०७६ मा २ सय १९ वटा ०७६–०७७ मा ७ सय २४ वटा ०७७–७८ मा ९ सय ६९ वटा ०७८–०७९ १ हजार ४६९ र आर्थिक वर्ष ०७९–०८० मा १ हजार ३८३ सवारीलाई कारवाहि गरिएको निमित्त इन्चार्ज बरिष्ठ हवलदार तामाङ्गले बताए ।
यसै गरीट्राफिक कार्यालय स्थापना भएदेखि हाल सम्म जिल्लामा ८ सवारी दुर्घटना भएका छन । विभिन्न समयमा भएका दुर्घटनामा परेर ८ पुरुष १ महिला र १ वालक गरेर १० जनाको मृत्यु भएको छ ।
त्यसै गरी दुर्घटनामा २८ पुरुष ५ महिला घाइते भएको टा«फिक कार्यालयको रेकर्डमा उल्लेख छ । डोल्पा र रुकुम जिल्लाको सिमा क्षेत्र साङ्ले देखि सदरमुकाम दुनै सम्मको आन्तरिक सडक खण्ड मध्ये भेत्तीमा पर्ने बतासे डाँडा, जुफाल डाँगीवाडाको घुम्ती, साङ्लेभीर र सिउडेनी घुम्तीमा बढी दुर्घटना हुने गरेको छ ।
पछिल्लो समय ट्राफिकले चेकजाँच र प्रशिक्षण लगायत जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरेपछि सवारी दुर्घटनामा कमी आएर आर्थिक वर्ष ०७९–०८० मा एउटा दुर्घटना मात्र भएको ट्राफिकले जनाएको छ ।
अझै पनि सवारी दुर्घटनालाई न्युनमा झार्न उच्च दुर्घटना स्थल मानिएका क्षेत्रमा सडक विभागले जोखिम सडक खण्ड पहिचान गरि सडक जोखिम सुचना टाँस गर्नु पर्ने ट्राफिक कार्यालयको भनाई छ । ट्राफिक अभियान अन्र्तगत त्रिपुराकोट दुनै जुफाल र खदाङमा गरी ४ वटा स्थानमा ट्राफिक संकेत चिन्ह तथा सुचना पार्टी राखिएको समेत कार्यालयले जनाएको छ ।
सडक सवारी दुर्घटना न्यूनीकरणको लागि जनचेतनामुलक कार्यक्रम स्कुल कार्यक्रम चालक सहचालक र पैदलयात्रीहरुलाई समेत ट्राफिक नियम सम्बन्धि प्रशिक्षण लगायतका ९२ वटा विविध जनचेतनामुलक कार्यक्रम संचालन समेत गरिएको ट्राफिकले जनाएको छ ।
ट्राफिक स्थापना नहुँसम्म गाडीभाडामा यात्रु र सवारीचालक बीच किचलो हुने गरेकोमा ट्राफिकले जीप भाडादर कायम गरेपछि भाडाकै लागि हुने गरेको झगडाको अन्त्य भएको छ । नेपाली सेनाले ०७५ मंसिर ४ मा जाजरकोट डोल्पा सडकलाई निर्माण कार्य सम्पन्न गरेर ०७६ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । नेपाली सेनाले सडक हस्तान्तरण गरेसंगै जीप संचालनमा आएका थिए ।
फोटो क्याप्सनः ठूलीभेरी नगरपालिका–३ सदरमुकाम दुनैस्थित जिल्ला टा«फिक कार्यालय अगाडी सवारी चेकजाँच गरिदैं । तस्विरः कालपृष्ठ