विदेशको कमाई व्यवसायीक बाख्रापालनमा
Thursday, July 27th, 2023, 9:10 pm
Kalpristha
लीलाधर वली
घोराही, ११ साउन
बैदेशिक रोजगारीका क्रममा लामो समय खाडीमुलकमा बसेका मामाभान्जा मिलेर दाङमा व्यवसायीक बाख्रापालन गर्दै आएका छन् । साउदी अरवमा २५ बर्ष बसेका मामा मनबहादुर बुढा र भान्जा जनक बुढाले विदेशमा भन्दा स्वदेशमै केही उद्देश्यले दुई बर्षअघि १४ लाख रुपैयाँ खर्च गरेर व्यवसायीक बाख्रापालन सुरु गरेका हुन् ।
सुरुमा सामान्य खोर निर्माण गरेर ८ वटा बोयर जातका बाख्राहरु किनेर सुरु गरेको व्यवसाय दुई बर्षको अवधिमा ४५ लाख लगानी पुगेको छ । ८ वटा बाख्राहरुबाट सुरु भएको फर्ममा अहिले ६० बढी बोयर र स्थानीय जातका खसी तथा बाख्राहरु रहेको सञ्चालक जनक बुढा बताउँछन् । उनले भने ,‘विदेशमा बसिरहनुभन्दा स्वदेशमै केही गरौ भन्ने मामाभान्जाको सल्लाहमा संयुक्त रुपमा बाख्रापालन सुरु गरेका हौं,अहिले राम्रै भैरहेको छ ।’
घोराही उप-महानगरपालिका-१२ हापुर रमनामा करिव डेढ विगाह जमीन भाडा लिएर बुद्ध बाख्रापालन फर्म सञ्चालन गर्दै आएका बुढाले सवैभन्दा समस्या घाँसको भएको बताए । उनले बाख्रालाई खुवाउनका लागि हरियो घाँस भएपनि सुख्खा साइलेस गरेको घाँस नहुँदा ठुलो संख्यामा बाख्रापालन गर्न समस्या हुने बताउँछन् । उनले भने,‘अझैसम्म हामीसँग थोरै बाख्रा भएकाले खास्सै समस्या भएको छैन, तर यसलाई बढाउँदै जादा घाँसको समस्या हुने देखिन्छ । हरियो घाँस खुवाएर मात्रै हुँदैन,घाँसलाई साइलेस गर्ने जिल्लामा मेसिन छैन ।’
रोल्पा परिवर्तन गाउँपालिका-१ कुरेली निवासी बुढा (हाल घोराही उप-महानगरपालिका-१५ भरतपुर) बाख्रापालन पुर्खैली पेसा भएकाले पनि सहज भएको बताउँछन् । फर्ममा करिव दुई सयदेखि अढाई सयमम बाख्राहरु पुर्याउने उद्देश्य रहेको बताए । सञ्चालक बुढाले भने,‘व्यवसायीक बाख्रापालनका माध्यमबाट मासुका लागिसँगै पाठपाठी पनि बेच्नु उद्देश्य रहेको छ । त्यही अनुसार अहिले ८० वटा पुगेपनि २० वटा खसी तथा पाठापाठीहरु विक्री गरेका छौ । विस्तारै बाख्रालाई बढाउँदै दुई सय बढी पुर्याउने सोचमा छौ ।’ बाख्रापानका लागि करिव १५ कट्टा जग्गामा नेपिएर, किमु, बर्सीम, मकैलगायतका घाँस खेती गर्दै आएको उनि बताउँछन् ।
बोयर जातसँगै स्थानीय जातका बाख्राहरु पाल्दै आएका बुढाले भने,‘मेहनत गर्नेहरुका लागि बाख्रापालन राम्रो व्यवसाय हो, यहाँ घाँसको समस्या देखिन्छ तर व्यवसायीक रुपमा पालन गर्ने किसानहरुले घाँस खेतीमा पनि ध्यान दिनुपर्छ ।’ उनले जिल्लामा बाख्राका लागि उन्नत तथा पोष्टिक दाना पाउन समेत समस्या रहेको बताए ।
उनका अनुसार तत्काल नाफा खोज्नेहरुका लागि बाख्रापालन उपयुक्त पेसा नभएपनि दिर्घकालिन रुपमा व्यवसाय गर्नेहरुका लागि बाख्रापालन राम्रो व्यवसाय भएको बताउँछन् । तर जिल्लामा राज्यले दिने अनुदान बास्तविक किसानहरुले पाउन नसकेको गुनासो रहेको छ । उनले भने ,‘राज्यको अनुदान पाउन किसानलाई समस्या छ । बरु यहाँ झोलामा फर्म बोकेर सरकारी कार्यालय धाउनेहरुले अनुदान प्राप्त गर्छन तर किसानले पाउन सक्दैनन् ।’
अहिलेसम्म धेरै खसीबाख्राहरु नभएकाले पनि होला बिक्रीका लागि कुनै पनि समस्या नभएको बुढा बताउँछन् । उत्पादन भएका बोयरका पाठापाठीहरुको माग आइरहेको हुन्छ,ठुला बोकाहरु पनि बिक्री भैरहेका छन्, अहिलेसम्म हामीलाई बिक्रीका लागि समस्या भएको छैन ।’ जिल्लामा बाख्रापालनका लागि समस्या नभएपनि घाँसका लागि भने समस्या रहेको उनि बताउँछन् । उनले भने,‘जिल्लामा थोरै बाख्रापालनका लागि समस्या छैन,तर व्यवसायीक रुपमा धेरै बाख्रापालन गर्नेहरुका लागि घाँसको समस्या रहेको छ । त्यसतर्फ स्थानीयदेखि प्रदेश सरकारले किसानलाई हेर्न आवश्यक छ ।’