भेरी अस्पताल १ सय ३४ वर्षमा प्रवेश
Friday, July 28th, 2023, 8:35 pm
Kalpristha
भेरी अस्पताल वि.सं. १९४७ साउन १२ गते पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई वि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रसुति गृह नामाकरण गरिएको थियो । वि.सं. २०२१ सम्म उक्त नामबाट चलेको र त्यस पश्चात वि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पताल नामाकरण गरिएको थियो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ साउन
नेपालगन्जस्थित भेरी अस्पताल एक सय ३४औं बर्षमा प्रवेश गरेको छ । सो अवसरमा शुक्रबार अस्पतालले १ सय ३३औं बार्षिकोत्सव मनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहको अध्यक्षता एवं लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा १ सय ३३औं बार्षिकोत्सव मनाइएको हो ।
बार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले भेरी अस्पताल संघमार्फत सञ्चालनमा रहे पनि प्रदेशले समन्वयसंगै आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पतालले पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा महत्वपूर्ण योगदान गरिरहेको बताए । भेरी अस्पताल संघ मातहत रहे पनि प्रदेशले विभिन्न समयमा सहयोग गर्दै आएको मन्त्री खनालले जानकारी दिए ।
मन्त्री खनालले जिल्लामा राम्रो उपचार सेवा लैजान सके भेरी अस्पतालमा चाप कम हुने बताए । मन्त्री खनालले भो,‘सबै जिल्ला अस्पतालमा कम्तीमा विशेषज्ञ सेवा दिनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ, यसका लागि ती जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि थप सुविधाको सुरुवात गरेका छौं ।’ उनले मातृमृत्युदर र कुपोषण बढी भएका कारण त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
बार्षिकोत्सव कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अस्पतालको गुणस्तर र सेवालाई अझ प्रभावकारी बनाउने विषयमा सुझाब दिएका थिए । कोरोनाकालमा भेरीले दिएको सेवाको सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
अस्तपतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. बद्रि चापागाईंले एक बर्षमा १ लाख ८० हजार ४ सय ३२ जनाले सेवा लिएको जानकारी दिए । उनले भेरीले गुणस्तर बृद्धिसंगै सेवा विस्तार गरिरहेको बताए । त्यस अवसरमा २५ बर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । वीर अस्पतालसंगै स्थापना गरिएको भेरी अस्पताल पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको छ ।
भेरी अस्पताल वि.सं. १९४७ साउन १२ गते पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई वि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रसुति गृह नामाकरण गरिएको थियो । वि.सं. २०२१ सम्म उक्त नामबाट चलेको र त्यस पश्चात वि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पताल नामाकरण गरिएको थियो । यस अस्पतालका लागि शुरुमा ५० बेड स्वीकृत भएको थियो भने २०४३ सालमा १०० बेड र हाल विकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा सञ्चालन भइरहेको छ ।
२०६१ भाद्र २९ गतेको पत्रानुसार १ सय शैया बाट बृद्धि गरी २ सय शैया क्षमतामा सञ्चालन गर्न अनुमति प्राप्त भएपनि आर्थिक अभावका कारण सञ्चालन गर्न नसकिएकाले हालसम्म १ सय ५० शैया क्षमतामै अस्पताल सञ्चालन भइरहेको छ । देश संघीय संरचनामा गएपछि केही समय भेरी प्रादेशिक अस्पताल नामाकरण भई प्रदेश नम्बर ५ अन्तर्गत राखिएको यस अस्पताललाई नेपाल सरकारको पछिल्लो निर्णय अनुसार संघ अन्तर्गत राख्ने र नामाकरण भेरी अस्पताल कायम गरिएको छ ।