वर्तमान सरकारले भष्ट्राचार लुकाउने कोशिस ग-योः अध्यक्ष ओली
Saturday, July 29th, 2023, 7:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ साउन
सत्ता पक्ष वा प्रतिपक्ष जुनसुकै भुमिकामा रहँदा पनि नेकपा एमालेले संधै मुलुकको समग्र हित र राष्ट्रिय स्वाधिनताका सवालमा काम गरेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
शनिवारबाट नेपालगन्जमा सुरु भएको लुम्विनि प्रदेशका सबै तहका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । नेकपा एमालेका जनप्रतिनिधिहरुले सत्तामा हुँदा मात्रै नभई सत्तामा नहुँदा पनि राष्ट्रियता र सुशासनका सवालमा काम गरेको उनले बताए ।
नेकपा एमाले अध्यक्ष ओलीले नेकपा एमालेबाट जितेका जनप्रतिनिधिहरुलाई हरेक नेपालीले स्वाभिमान पुर्वक बाँच्न पाँउने तथा हरेक नेपालीका लागि भनेर सुखी नेपाली–समृद्व नेपालको अवधारणमा टेकेर काम गर्न सुझाव दिए ।
देशको समग्र विकासका लागि नेकपा एमालेको सरकार एकमात्रै विकल्प भएको भन्दै अध्यक्ष ओलीले भने,‘समृद्व नेपाल निर्माणको लागि नेकपा एमाले एकमात्रै विकल्प हो । हामी बाहेक अरुले देश हाँक्न÷चलाउन सक्दैन । देशको मुहार फेर्नसक्ने खालको मिसन र भिजन अरु कसैसँग छैनन् । देशको काँचुली फेर्नसक्ने र देशलाई विनाकुनै वाधा अवरोध अघि बढाउनसक्ने साहस कसैले राख्छ भने त्यो नेकपा एमालेले मात्रै राख्छ । त्यस कारण पनि जनताको सेवा गर्ने अवसरको भरपुर प्रयोग गर्नुस र जनमतलाई आफ्नो पक्षमा पार्नुस् ।’
प्रशिक्षण कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाई अध्यक्ष ओलीले संस्थाको हितमा काम गर्न भन्दै बेरूजु नहुने गरि काम गर्न आग्रह गरे । उनले एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउने तिर ध्यान दिन सबै तहका जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए । मिसन ८४ लाई लक्षित गरि ८४ सम्म योजनाबद्व तरिकाले जनतामुखी समाजसेवामा खटिन उनले आग्रह गरे । कुनैपनि काम गर्दा सबै प्रक्रिया पुगेको छ वा छैन भन्ने बारे ख्याल गरि बेरूजु, अनियमितता समेत ख्याल गरि सतर्क रहन आग्रह गरे ।
वर्तमान सरकारले देशको विकासका लागि केही गर्न नसक्ने उनको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै ओलीले बर्तमान सरकारले भ्रष्ट्राचार लुकाउने कोशिस गरेको बताए । साथै उनले अहिलेको सरकार सुशासनको पक्षमा नरहेको बताए । उनले अहिलेको सरकार राष्ट्र र राष्ट्रियता प्रति जिम्मेवार नभएका कारण जनतामुखी र जनताले चाहेको जस्तो काम गर्न नसकेको दाबी गरे ।
अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुन भित्रिनुले भ्रष्ट्राचार र सुशासनको पक्षमा वर्तमान सरकारले सिन्को पनि नभाच्ने कुरा प्रष्ट हुने उनले बताए । सरकारमा बसेका व्यक्तिहरुको संलग्नता बिना एयरपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा सय किलो सुन निकासा हुनु असम्भव रहेको उनको भनाई थियो ।
२ दिन चल्ने प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रिय नेताहरु विष्णु पौडेल तथा पद्मा अर्याल लगायत लुम्बिनी प्रदेशका १२ जिल्लाका तिनै तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।