एमाले पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी
Wednesday, August 2nd, 2023, 8:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ साउन
नेपालगन्जस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी बुधबार दोस्रो दिन पनि जारी छ । पार्टी सदस्यहरुको नवीकरण नगरिदिएको भन्दै पार्टीको बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा मङ्गलबार तालाबन्दी गरिएको थियो ।
बुधबार बिहानैदेखि बैजनाथ गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला र पालिका कमिटीका पदाधिकारी र अगुवा कार्यकर्ता पार्टी कार्यालयमा जम्मा भएका थिए । कमिटीका सचिव प्रेम सुवेदीले जिल्ला कार्यालयमा नवीकरणका लागि विवरणसहित पठाइएको भए पनि नवीकरण नगरिदिएपछि तालाबन्दी गर्न बाध्य भएको जानकारी दिए ।
कमिटीका अध्यक्ष इन्द्रबहादुर थापाको अगुवाइमा भएको तालाबन्दीमा प्रदेश कमिटीका सदस्यहरु घननाथ खनाल, मानबहादुर रुचाल, नन्द विश्वकर्मा लगायतका अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।
बैजनाथ गाउँपालिका कमिटीका तर्फबाट २०७९ को एक हजार १४ जना र २०८० को ७१४ जनाको पार्टी सदस्यता नवीकरण गरी जिल्ला पार्टी कार्यालयमा सम्पूर्ण विवरणसहित बुझाउँदा समेत पार्टी सदस्यता नवीकरण नगरिदिएको दाबी पालिका कमिटीको छ । जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले पार्टीलाई प्रालिको सदस्यता रोक लगाएजस्तो गरी पार्टी सदस्यता नवीकरणमा रोक लगाएको दाबी कमिटीले गरेको हो ।
पालिका कमिटीले पार्टी सदस्यता नवीकरण गर्न पाउने अधिकारमाथि पार्टी जिल्ला अध्यक्ष कक्षपतिले वञ्चित गरेकोमा सो कार्यको निन्दा गरेको छ । आसन्न जिल्ला अधिवेशनमा आफूलाई समर्थन नहुने देखेपछि बैजनाथ पालिकाका अधिकांश पार्टी सदस्यहरुको नवीकरण रोकिएको एकजना जिल्ला कमिटी सदस्यले बताए ।