बाँकेमा ३४ प्रतिशत धान रोपाई हुन बाँकी
Wednesday, August 2nd, 2023, 8:46 pm
Kalpristha
बाँकेमा सिचाइँ सुविधा नपुग्दा आकाशे पानीको भर पर्नुपर्ने किसानहरुमा बाध्यता छ । जसको कारण साउन तेस्रोलो हप्ता लाग्दा समेत सबैका खेतमा रोपाइँ नभएको हो । साउन सुरु भईसक्दा पनि पर्याप्त पानी नपरेका कारण कतिपयका खेतहरु बाँझै देख्न सकिन्छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ साउन
बाँकेमा यस बर्ष अहिलेसम्म ६६ प्रतिशत मात्रै धान रोपाई भएको छ । धान खेतिका लागी प्रर्याप्त बर्षा नहँुदा साउन तेस्रो हप्ता सम्म पनि हुनुपर्ने जति रोपाई हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत अनिश श्रेष्ठका अनुसार धान खेतिका लागी प्रर्याप्त बर्षा नहँुदा धानखेती हुँदै आएको ३६ हजार ५ सय हेक्टर क्षेत्रफलको ३४ प्रतिशतमा अँझै रोपाई हुन नसकेको हो ।
कृषि ज्ञान केन्द्रका अधिकृत श्रेष्ठका अनुसार गत बर्षको तुलनामा यो २० प्रतिशतले कम हो । ‘हुनुपर्नेजति धान रोपाई हुन नसक्नुको मुख्य कारण भनेकै बर्षा र सिँचाई अभाव हो । त्यसका अलावा धान रोपाईको गत बर्ष र यसबर्षको तुलनात्मक रुपमा प्रतिशत फरक पर्ने अर्को कुनै कारण छैन ।’
हालसम्म कम्तिमा पनि ८५ देखि ९० प्रतिशतसम्म धान रोपाई हुनुपर्नेमा ६६ प्रतिशत मात्रै धान रोपाई भएको उनको भनाई थियो ।
बाँकेमा सिचाइँ सुविधा नपुग्दा आकाशे पानीको भर पर्नुपर्ने किसानहरुमा बाध्यता छ । जसको कारण साउन पहिलो हप्ता लाग्दा समेत सबैका खेतमा रोपाइँ नभएको हो । मध्ये साउन भईसक्दा पनि पर्याप्त पानी नपरेका कारण कतिपयका खेतहरु बाँझै देख्न सकिन्छ ।
सिचाइँ सुविधा नहुँदा खेती किसानी गर्नेहरुलाई वर्षेनी हैरानी खेप्नुपरेको छ । जसका कारण आकाशे पानीको भर पर्नुपर्ने अवस्था विद्यमान छ ।
हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षहरू भन्दा यो वर्ष बाँकेमा ढिलो गरी धान रोपाइँ शुरु भएको हो । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । धेरै किसानले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । सिँचाई सुविधा भएको ठाउँमा मात्र बिउ राखिएको थियो ।