स्वास्थ्यजन्य फोहरमाथि मेयरको निगरानी !
Wednesday, August 2nd, 2023, 8:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ साउन
नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट बुधबार विहानै सडकमा निस्किए । मोर्निङ वाकको हुलियामा घरबाट निस्कनुभएका विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पताल पुगे । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल संगसंगै चारबाहिनी चोकसम्म पुग्दै गर्दा उनिहरुले सडकमा स्वास्थ्यजन्य फोहरसंगै सरसफाईको अवस्थाबारे अनुगमन गरेका थिए ।
स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा मेडिकलहरुले लापर्वाही गरिरहेको पाएपछि हामीले निगरानी बढाएका छौं, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर संकलन भइरहँदा पनि लापर्बाही गर्ने छुट कसैलाई छैन, भेरी अस्पताल अगाडि भेटिएका विष्टले भने-ॅस्वच्छ, सफा र हरित नगर बनाउने अभियानका लागि हामी गम्भीर ढंगले लागेका छौं, सरोकारवालासंगसंगै हरेक नागरिकले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ ।”
सरसफाई फाँट हेरिरहेका कर्मचारी र सरसफाईकर्मीलाई खटनपटन गराउने टिम लिडरहरुलाई स्पष्ट निर्देशन दिँदै उहाँले काममा कुनै कम्प्रमाइज नहुने बताए । ॅशतप्रतिशत काम चाहिन्छ, टालटुले हिसाबले हुँदैन, राम्रोसंग काम नगर्नेहरुलाई तुरुन्त फायर गर्नुस्, काममा कुनै कम्प्रमाइज हुँदैन, नगर सफा देखिनुपर्दछ,’ विष्टले भने । नेपालगन्ज उप-महानगरपालिकाले सरसफाईका लागि थुप्रो धनराशी खर्च गरिरहेको बताउँदै उनले सहर सफा देखिने गरी काम गर्न निर्देशन दिए । नगर प्रमुख विष्टले सरसफाईको अवस्था हेर्न निरन्तर अनुगमन गरिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्वयं नागरिकमा इमान्दारिता, जागरुकता र जिम्मेवारीपन भए सफा र स्वच्छ नगर बनाउने उप-महानगरपालिकाको अभियान छिट्टै सार्थक हुने बताए । नगरको सुन्दरता र स्वास्थ्यसंग जोडिएको संवेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट स्वच्छ र सफा सहर निर्माणमा टेवा पुग्ने रिजालको विश्वास छ ।