समावेशी प्यानल घोषणा कार्यक्रममा विवाद, सहमति तोडिन सक्ने चेतावनी
Thursday, August 3rd, 2023, 8:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ साउन
आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलले आयोजना गरेको उम्मेवार घोषणा कार्यक्रममा विवाद सृजना भएको छ । एशोसिएट सदस्य पदमा संजय अग्रवाललाई उम्मेदवार नबनाएको भन्दैं विवाद उत्पन्न भएको हो ।
उम्मेदवार घोषणा कार्यक्रममा बोल्ने क्रममा नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले एशोसिएट सदस्य पद एमालेलाई दिने सहमति भए अनुसार त्यसमा संजय अग्रवाल हुनु पर्ने अडान लिदैं उक्त सहमति कार्यन्वयन नभएमा सहकार्य भंग हुने चेतावनी दिए । कक्षपतिले सार्वजनिक रुपमै उक्त सहमतिको पालना नभए आफुहरु समावेशी प्यानलमा रहन नसक्ने बताएका छन् । विहिबार उम्मेदवार घोषणा कार्यक्रममा समावेशी प्यानलबाट कमल कार्की र राजिव तलङ्गाको नाम सार्वजनिक गरिएको थियो ।
समावेशी प्यानलमा माओवादी, एमाले, जसपा पार्टी निकटका व्यवसायीहरुको सहकार्य छ । सुरुमा समावेशी प्यानलमा राप्रपा समावेश भएपनि पद बाडभाडमा कुरा नमिलेपछि राप्रपाको एक समुह साझा प्रजातान्त्रिक समुहसँग सहकार्य गर्न पुगेको छ ।
माओवादी निकट व्यवसायी टंक थामीको नेतृत्वमा समावेशी प्यानलले चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । सुरुआतमा एमालेले निकट व्यवसायीहरुको नेतृत्व गर्दै संजय अग्रवालले नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा लडने तयारी सुरु भएको थियो । तर एमालेभित्रै एक समुहले संजयको पक्षमा बिरोधमा उत्रिएका थिए ।
त्यसपछि नेपाली कांग्रेस र एमाले निकटका व्यवसायी मिलेर निर्वाचनमा जाने करिब पक्का भैसकेको थियो । पदको बाडफाडको विषयमा कुरा नमिलेपछि अन्तिम विन्दुमा गएर कांग्रेस र एमालेबिचको सहकार्य पनि हुन सकेको थिएन् ।
पछि गएर एमालेले माओवादी निकटका व्यवसायीसँग सहकार्य गर्ने निर्णय गरेका थिए । जुन सहकार्य अनुसार अग्रवाललाई एशोसिएट सदस्यमा राख्ने सहमति भएको कक्षपतिले बिहिबार बोल्ने क्रममा बताएका थिए ।