राजनीति सँगसँगै माहुरीपालन व्यवसाय
Thursday, August 3rd, 2023, 9:06 pm
Kalpristha
लीलाधर वली
दाङ ,१8साउन
राजनीतिमा जति सक्रीय छन् डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय छन् । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहेका डाँगी जनताको सेवासँगै विगत दश बर्षदेखि माहुरीपालन व्यावसाय गर्दै आएका छन् ।
माहुरीपालनमा पनि डाँगीले लोकल स्थानीय जातको सेरेना माहुरीलाई व्यावसायिक रुपमा पालन गर्दै आएका छन् । उनले जंगलमा रुख र भिरहरुमा बस्ने माहुरीलाई घर व्यवस्थित रुपमा घारहरु निर्माण गरेर एक दशकदेखि डाँगीले व्यावसायिक माहुरीपालन गर्दै आएका छन् ।
जंगलबाट खोजेर घरमा ल्याउँदै पाल्ने गरेका डाँगीले दश बर्षको अवधिमा माहुरीका करिव डेढसय घार बनाउन सफल भए पनि अहिले माहुरीको संख्या घटेको बताए । जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि घरभन्दा जनताका लागि समय दिन थालेपछि माहुरीको घारहरु घट्न पुगेको बताए ।
वडा अध्यक्ष समेत रहेका डाँगीले भने, ‘राजनीति मात्रै गर्दा घरमा बढी समय दिन पाइन्थ्यो । तर अहिले जनप्रतिनिधि भएपछि घरभन्दा जनताको काममा बाहिर बढी समय दिनुपर्ने भएको छ । जस्ले गर्दा घरमा माहुरीलाई समय दिन पाएको छैन ।’
पहाडी क्षेत्रमा चिउरीलगायतका विभिन्न फलफूलका विरुवाहरु हुने भएकाले चरणको समस्या नहुने भए पनि माहुरीलाई अरिङल र बच्छिउबाट बचाउन समस्या हुनेगरेको उनले बताए । उनले भने , ‘सून्य घारबाट सुरु गरेको माहुरीलाई बढाउँदै डेढसयसम्म पुगाएको थिएँ । तर राजनीतिमा लागेपछि घारमा समय दिन पाइन । जस्लेगर्दा अहिले माहुरीको घार घटेर ५० देखि ६० घारहरु मात्रै छ ।’ डाँगी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
उनले भने , ‘भौगोलिक विकटताका कारण वडाको ठूलो भूगोल छ । जस्लेगर्दा वडा कार्यालयबाट दैनिक रुपमा घरबाट आउन जान सक्नुपर्ने अवस्था छैन । डेरागरी बस्दा माहुरीलाई नियमित हेरचाह नहुने हुँदा माहुरी घट्न पुगेका छन् ।’
उनि नहुँदा घरमा माहुरी श्रीमति गोमा डाँगीले हेर्ने गर्दै आएकि छिन् । करिव दुईसय माहुरी पुगाउने लक्ष्य रहेको डाँगीले बताए । वडा अध्यक्ष नभएर माहुरीपालनमै समय दिन पाएको भए अहिले करिव दुई सय बढी माहुरी भैसक्ने उनले बताए ।
उनले भने, ‘माहुरीलाई चराउन लग्न नपर्ने र गाई बाख्रालाई जसरी गाँस पराल दिन नपर्ने भएकाले पाल्न सजिलो छ । तर यसलाई मार्ने किराबाट बचाउन ध्यान दिनुपर्छ ।’ डाँगीसँग करिव ५० घार सेरेना जातको माहुरी र करिव दश घार जति पुत्का जातको माहुरी छन् ।
पुत्का माहुरीको सबैभन्दा सानो जातको माहुरी हो । यसको मह प्रतिकिलो १० हजार रुपियाँमा विक्ने गरेको उनले बताए । पुत्का माहुरीको मह औषधिका रुपमा प्रयोग हुनेगरेकाले महंगो मुल्यमा विक्री हुनेगरेको छ ।
लोकल सेरेना जातको माहुरीको मह समयअनुसार ८ सयदेखि १२ सय रुपियाँसम्म प्रतिकिलो विक्री हुनेगर्दछ । उनका अनुसार कार्तिक महिनामा निकालेको मह १२ देखि १३ सय रुपियाँ प्रतिकिलो विक्री हुने गरे पनि चैत, असार महिनातिर निकालेको मह कम मुल्यमा विक्री हुनेगरेको उनले बताए । माहुरीपालक डाँगीले करिव दुई लाखसम्म बार्षिक रुपमा आम्दानी गर्दै आएको बताए ।