कांग्रेस बाँकेद्वारा सांगठनिक सुदृढीकरणका लागि विशेष अभियानु सुरु
Saturday, August 5th, 2023, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० साउन
नेपाली कांग्रेस बाँकेले सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानु सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानको शनिबारबाट सुभारम्भ गरिएको हो । पार्टी कार्यालय नेपालगन्जमा शनिबार जिल्ला कार्यसमिति बाँकेका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश सभापति, पलिका सभापति लगायतको उपस्थितिमा अभियानको सुभारम्भ गरिएको प्रबक्ता डिल्ली गिरीले बताए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबै तह र तप्का सक्रियतापूर्वक लाग्ने निर्णय गरेको छ । बाँकेका लागि केन्द्रिय प्रतिनिधि खटिएका केन्द्रिय सदस्य गिरीले पार्टीको संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैलाई क्रियाशील भएर लाग्न आह्वान गरे ।
कांग्रेसको संगठनलाई मजबुत बनाउन हामीले केन्द्रीय कार्यसमितिबाट एक वर्षे कार्ययोजना नै पारित गरेका छौं, त्यही अनुसार यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको छु , गिरीले भने, यो अभियानमा कांग्रेसको सांगठनिक जीवन कसरी चलिरहेको छ भनेर जानकारी लिने र कमजोरीहरु औंल्याउने काम हुन्छ । पार्टी सभापति गौडेलले ८१ वटै वडामा अभियान पुग्ने गरी सशक्त ढंगले लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । यो १० दिने अभियानपछि कांग्रेसको सांगठनिक जीवनमा परिवर्तन महसूस हुनुपर्नेमा गौडेलको जोड छ । सचिव सुधांशु कोइरालाले बैठकको सहजीकरण गरेका थिए ।
साउन २ गतेदेखि १० गतेसम्म बसेको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार शनिबारदेखि ७७ वटै जिल्लामा अभियान सुरु भएको हो । जिल्लामा खटिएका नेताहरुले जिल्लाको अवस्था के छ ? पार्टी संगठन कसरी चलेको छ ? स्थानीय सरकारहरु कसरी चलेका छन् ? विधान बमोजिम गर्नुपर्ने कामहरु भए नभएको के कस्तो अवस्था छ ?, यी विषयमा प्रतिवेदन तयार गरेर केन्द्रमा बुझाउनेछन् । अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल समेत गर्नेछन् ।