‘खस्कदैं गरेकोे बजारलाई माथि उकास्ने प्रतिवद्धता’
Tuesday, August 8th, 2023, 8:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ साउन
आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार उद्योगी व्यवसायी र सम्रग नेपालगन्जको आर्थिक, सामाजिक विकास गर्ने बाचा सहित साझा प्रजातान्त्रिकबाट अध्यक्ष पदका उम्मेदवार ललित रौनियारले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । १८ बुद्धाको प्रतिवद्धता पत्रमा खुला सिमाना कारण स्थानीय व्यवसायीका समस्या देखि लिएर सम्रग नेपालगन्जको आर्थिक विकासमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने उल्लेख गरिएको हो ।
प्रतिवद्धता पत्रमा कर, भन्सार, स्थानीय कर, आन्तरिक ओसार पसारमा देखिएका जटिलतालाई सहजिकरण गर्ने, बन्द रहेका उद्योगलाई संचालन गर्न वातावरण निर्माण गर्ने, भारतबाट आयात गर्ने वस्तुहरुको चर्को भन्सार दरले चोरी पैठारीलाई बढावा दिइरहेकोले नेपाल सरकारसँग सम्वाद गरी न्युन दर गराउन पहल गर्ने, जडिबुटी निर्यातको समस्या समाधान गर्ने, कर प्रणालीलाई सहज बनाउन पहल गर्ने, बाँके जिल्लामा रहेको तरकारी उत्पादन क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउन पहल गर्ने, पर्यटन प्रवद्र्धन गर्दै पर्यटन प्रहरी, हाट बजार संचालन, नेपालगन्ज फुड लेनको स्थापना, रात्री बजारको पहल, क्यासिनो, स्पा सेन्टरहरुलाई मर्यादित बनाउन पहल गर्ने उल्लेख गरिएको छ ।
यसैगरी स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा विस्तार गर्न पहल गर्ने, युवाहरुलाई व्यवसायमा रुची बढाउने वातावरण निर्माण गर्ने, सुख्खा बन्दरगाह शीघ्र संचालन ल्याउन दबाब दिने, उद्योग तथा व्यवसायीको विस्तार र विकास गर्न नियमित विद्युत उपलब्ध गराउन पहल गर्ने, महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी स्वरोजगार बनाउन अभियान चलाउने, बजार क्षेत्रमा पार्किङलाई व्यवस्थित गर्न स्थानीय निकायसँग सहकार्य गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, व्यवसायिक सुरक्षाको लागि सिसि क्यामेरा जडान गर्ने र भएकालाई मर्मत गर्ने, संघको सचिवालयलाई प्रविधिमैत्री बनाउने र राप्ती नदी स्थित सिधनिया घाटमा शव दाह ठाउँको उचित व्यवस्थापन गर्ने लगायतका अन्य विभिन्न विषयहरु प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
खुला सिमानाको फाइदा उठाउँदैं कर छलेर आउने सामान रोक्दै खस्कदैं गएको नेपालगन्जको बजारलाई माथि उकास्न नेतृत्वदायी भुमिका निर्वाह गर्ने अध्यक्ष पदका उम्मेदवार रौनियारले जोड दिए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष पदको उम्मेदवार करिष्मा योगीले स्वागत मन्त्वय राखेकी थिइन भने वाणिज्य तर्फका उपाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुनिल कुमार शर्मा, नेकपा समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँ, राप्रपा केन्द्रिय सदस्य अभय बस्नेत, राप्रपा बाँके जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह, नेपाली कांग्रेस बाँकेका उप–सभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बस्नेत, नेपालगन्ज उप–महानगरपालिका उपमेयर उमा थापा, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव विष्णु लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
भदौ २ गते हुन लागेको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको तर्फबाट अध्यक्षमा ललित कुमार रौनियार, वाणिज्य तर्फको उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्षमा मोहम्मद सफिक बेहना, महिला उपाध्यक्षमा करिष्मा योगी, महासचिवमा टंक प्रसाद शर्मा, कोषाध्यक्षम मख्खन धामी, उप–महासचिवमा टेक बहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

………….
यसैगरी सदस्य पदमा शिव प्रसाद दाहाल, अतुल कुमार गुप्ता, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, कैफुल वरा जोलाहा, सुनिल भण्डारी, बल बहादुर विष्ट ‘बबी’ले प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी साझा प्रजातान्त्रिक समुहबाट एशोसियट सदस्यमा प्रदीप कुमार गुप्ता, पुरुषोत्तम अग्रवाल, सम्बद्ध वस्तुगत तर्फ तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ अध्यक्ष हिमनाथ पौडेल र सम्बद्ध वस्तुगत पानी उद्योग संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठले उम्मेदवारी दिएका छन् ।