नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंक धामी निर्वाचित
Sunday, August 20th, 2023, 10:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ भदौं
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा टंकबहादुर धामी विजयी भएका छन् । समावेशी प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएका धामीले ललितकुमार रौनियारलाई ८ सय ९० मतले पराजित गरे । धामीले २ हजार ४ सय ५६ मत प्राप्त गर्दा रौनियारले १ हजार ५ सय ६६ मत प्राप्त गरेका छन् ।
रौनियार साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवार हुन् । रौनियारले यसअघिको निर्वाचनमा पनि अध्यक्षमा अब्दुल वाहिद मन्सुरी चुन्नासँग पराजित भएका थिए । गत शनिबार नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा भएको निर्वाचनमा ४ हजार ९ सय ३१ मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा ४ हजार १ सय ३२ जनाले मतदानमा सहभागिता जनाएका थिए ।जसमा ७ सय ९९ मतदाताले निर्वाचनमा सहभागिता जनाएनन् ।
नयाँ अध्यक्षका रुपमा निर्वाचित धामी संघको वर्तमान कार्यसमितिको प्रवक्ता हुन् । धामीसँग संघमा दुई कार्र्यकाल सदस्य भएर काम गरेको अनुभव छ । २०६० सालदेखि नेपालगन्जमा रेडिमेड व्यवसाय सञ्चालन गरेका धामी कमल इन्टरप्राइजेज, सिद्धिविनायक अर्डर एण्ड सप्लायर्स, मनिष ट्रेड लिंक, कमल गार्मेन्ट प्रालि संचालन गरेर व्यवसायमा सक्रिय छन् ।
यससँगै उनी रामारोशन तयारी पोशाक व्यवसाय सञ्चालन हुन् । रामारोशन सहकारीका अध्यक्ष र अछामी सेवा समाजका सल्लाहकार र लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका पूर्व अध्यक्ष पनि हुन धामी । अध्यक्षमा विजयी भएपछि धामीले सानादेखि ठूला उद्योगी व्यवसायीलाई अनुभूति हुने गरी संघलाई सक्रिय बनाउने बताए । यसपटकको निर्वाचनमा धामीले समावेशी प्यानलको १७ ‘स’को प्रतिबद्धता सार्वजनिक गर्दै निर्वाचनमा होमिएका थिए ।