महासचिव पदको मतगणनामा विवाद, निर्वाचन कार्यालयमा तालाबन्दी
Monday, August 21st, 2023, 10:08 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ भदौं
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । केहि मतपत्रगणना गर्न बाँकी रहेको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका व्यवसायीहरुले बिरोध गरेका छन् । बाँकी रहेको मतपत्र गणना हुनुपर्ने भन्दैं उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका छन् ।
संघको निर्वाचनमा समावेशी प्यानलबाट भीमराना भाट र साझा प्रजातान्त्रिकको तर्फबाट टंक प्रसाद शर्मा महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचन अधिकृत टिकाजंग शाहले निर्वाचनको नतिजा घोषणा गरिसकेपछि केहि व्यवसायीले असन्तुष्टी जनाउँदै निवेदन दिएको बताए । दुबै पक्षलाई मिलाएर बिवाद मिलाउने प्रयास भैरहेको पनि उनले बताए । प्राविधिक रुपमा केहि कमजोरी भएको स्वीकार गर्दै उनले त्यसमा दुबै पक्षको सहमतिमा पुनः मतगणना वा बाँकी रहेको केहि मतपत्र गणना गर्ने भन्ने बारेमा बार्ता भैरहेको कालपृष्ठ दैनिकलाई बताए ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाले बाँकी रहेको मतपत्र गणना गर्नु पर्ने माग सहित तालाबन्दी गरिएको बताए । उनले भने,‘हामीले कस्तो संस्कारको विकास गरिरहेको छौं । जबरजस्ती नतिजा सार्वजनिक गरिन्छ । पुरा मत गणना नगरी विजेता घोषणा गर्न मिल्छ र? यो प्रजातान्त्रिक व्यवस्थामा पनि यस्तो काम निर्वाचन अधिकारीबाट हुनु लज्जास्पद कुरा हो । यसमा कसैको जित हार भन्दा निःपक्ष रुपमा दुबै पक्षले न्याय पाउनु पर्छ । परिणाम जस्तो आएपनि हामी स्वीकार गछौं । तर पुरा मत गणना हुनु पर्छ ।’
नेपाली कांग्रेसका उप–सभापति एवम् साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको निर्वाचन परिचालन कमिटीका संयोजक गोपाल प्रसाद अधिकारीले महासचिव पदमा पुन मतगणना हुनु पर्ने माग राखेका छन् । उनले भने, ‘संघको निर्वाचनमा यसअघि पनि यस्ता विवाद आउने गरेका थिए । बाँके रहेका मत गणना गरेर मात्र नतिजा सार्वजनिक गर्ने गरिएको थियो । यहाँ निर्वाचन अधिकारीको नियममा प्रश्न उठेका कारण महासचिव पदमा पुनः गणना हुनु पर्छ ।’

………….
संघको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्यहरुको छुटा छुटै मत रहेको थियो । पदाधिकारीलाई भोटिङ गरेको मतपत्र राख्ने बाकस पनि छुटै राखिएको थियो । तर केहिले उक्त मतपत्र अन्य बाकसमा राखेको थिए । त्यस्ता मतपत्रलाई छुटयाएर पछि गणना गर्ने सहमति भएको थियो । महासचिव पदमा पनि त्यस्ता मतपत्र अलग्गै राखिएको थियो । त्यही मतपत्र गर्न बाँकी रहेको बेला नतिजा सार्वजनिक भएपछि अहिले विवाद उत्पन्न भएको हो ।