महासचिव पदको मतगणना पुनः भोली गरिदैं
Monday, August 21st, 2023, 3:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ भदौं
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत महासचिव पदको मतगणनामा विवाद उत्पन्न भएपछि मंगबालर पुनः मतगणना हुने भएको छ ।
पुरा मतपत्र गणना नगरी नतिजा सार्वजनिक गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका व्यवसायीहरुले बिरोध गरेका थिए । सम्पुर्ण मतपत्रको गणना गर्दै नतिजा सार्वजनिक गर्नु पर्ने माग राख्दैं प्रजातान्त्रिक समुहका व्यवसायीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।
समस्याको निकास निकाल्नको लागि निर्वाचन कार्यालयले समावेशी र साझा प्रजातान्त्रिक समुहका अध्यक्षका उम्मेदवारलाई बोलाएर छलफलको प्रयास गरेको थियो । छलफलपछि पुनः भोली मंगलबार बिहान ८ बजेदेखि महासचिव पदको पुनः मतगणना गर्ने निर्वाचन कार्यालयले निर्णय गरेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा यसपटक समावेशी प्यानलबाट भीमराना भाट र साझा प्रजातान्त्रिकको तर्फबाट टंक प्रसाद शर्मा महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचन अधिकृत टिकाजंग शाहले निर्वाचनको नतिजा घोषणा गरिसकेपछि केहि व्यवसायीले असन्तुष्टी जनाउँदै निवेदन दिएको बताए । प्राविधिक रुपमा केहि कमजोरी भएको स्वीकार गर्दै उनले त्यसमा दुबै पक्षको सहमतिमा पुनः मतगणना गर्ने निर्णय गरिएको बताए ।
निर्वाचन कार्यालयले महासचिव पदका अर्का उम्मदेवार भीमराना भाटलाई सम्पर्क गर्दा उनले प्रयोग गर्ने नम्बरमा सम्पर्क हुन नसकेकोले एक विज्ञप्ती मार्फत सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाले बाँकी रहेको मतपत्र गणना गर्नु पर्ने माग सहित तालाबन्दी गरिएको बताए । उनले भने,‘हामीले कस्तो संस्कारको विकास गरिरहेको छौं । जबरजस्ती नतिजा सार्वजनिक गरिन्छ । पुरा मत गणना नगरी विजेता घोषणा गर्न मिल्छ र? यो प्रजातान्त्रिक व्यवस्थामा पनि यस्तो काम निर्वाचन अधिकारीबाट हुनु लज्जास्पद कुरा हो । यसमा कसैको जित हार भन्दा निःपक्ष रुपमा दुबै पक्षले न्याय पाउनु पर्छ । परिणाम जस्तो आएपनि हामी स्वीकार गछौं । तर पुरा मत गणना हुनु पर्छ ।’
नेपाली कांग्रेसका उप–सभापति एवम् साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको निर्वाचन परिचालन कमिटीका संयोजक गोपाल प्रसाद अधिकारीले महासचिव पदमा पुन मतगणना हुनु पर्ने माग राखेका छन् । उनले भने, ‘संघको निर्वाचनमा यसअघि पनि यस्ता विवाद आउने गरेका थिए । बाँके रहेका मत गणना गरेर मात्र नतिजा सार्वजनिक गर्ने गरिएको थियो । यहाँ निर्वाचन अधिकारीको नियममा प्रश्न उठेका कारण महासचिव पदमा पुनः गणना हुनु पर्छ ।’
संघको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्यहरुको छुटा छुटै मत रहेको थियो । पदाधिकारीलाई भोटिङ गरेको मतपत्र राख्ने बाकस पनि छुटै राखिएको थियो । तर केहिले उक्त मतपत्र अन्य बाकसमा राखेको थिए । त्यस्ता मतपत्रलाई छुटयाएर पछि गणना गर्ने सहमति भएको थियो । महासचिव पदमा पनि त्यस्ता मतपत्र अलग्गै राखिएको थियो । त्यही मतपत्र गर्न बाँकी रहेको बेला नतिजा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो । पुरा मतपत्र गणना नगरको भन्दैं महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए ।