निर्वाचन अधिकारीको लापरबाहीले विवाद, महासचिवमा भोली पुनः मतगणना हुने
Monday, August 21st, 2023, 7:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ भदौं
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत महासचिव पदमा भएको मतगणनामा विवाद उत्पन्न भएपछि आज पुनः मतगणना हुने भएको छ ।
१ हजार ९ सय २६ मत प्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार भिमराना भाटलाई निर्वाचन अधिकारीले विजेता घोषणा गरेका थिए । साझा प्रजातान्त्रिकका टंक प्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो । तर त्यतिबेला केहि मतपत्र गणना गर्न बाँकी रहेको थियो ।
सम्पुर्ण मतपत्र गणना नगरिकन नतिजा सार्वजनिक गरिएपछि विवाद उत्पन्न भएको थियो । निर्वाचन कार्यालयका अधिकारीहरुको लापरबाही कारण विवाद उत्पन्न भएको व्यवसायीहरुले आरोप लगाएका छन । महासचिव पदमा केही छुटफुट मतपत्र पछि गणना गर्नको लागि एउटा खाममा राखिएको थियो । जुन गणना भएको थिएन् ।
खाममा भएको उक्त मतपत्र गणना नगर्दै निर्वाचन कार्यालयले महासचिवमा भाटलाई विजेता घोषणा गरेको थियो । निर्वाचनमा खटिएका केहि निर्वाचन अधिकृतले केहि मत गणना गर्न बाँकी रहेको भन्दैं रोक्ने प्रयास गरिएपनि हत्तारमा विजेता घोषणा गरिएपछि विवाद उत्पन्न भयो । जसले निर्वाचन अधिकारीहरुलाई समेत विवादमा तान्यो ।
निर्वाचन अधिकारीको गलत व्यवहार र क्रियाकलापको बिरोध गर्दै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले बिरोध गरेका थिए । बिरोध गर्ने क्रममा रंगशाला स्थित शारीरिक सुगठन हलमा रहेको निर्वाचन कार्यालयमा प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले तालाबन्दी गरे । पछि दुबै पक्षको सहमति मंगलबार बिहानदेखि पुनः मतगणना गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको थियो ।
समस्याको निकास निकाल्नको लागि निर्वाचन कार्यालयले समावेशी र साझा प्रजातान्त्रिक समुहका अध्यक्षका उम्मेदवारलाई बोलाएर छलफलको प्रयास गरेको थियो । छलफलपछि पुनः मंगलबार बिहान ८ बजेदेखि महासचिव पदको पुनः मतगणना गर्ने निर्वाचन कार्यालयले निर्णय हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा यसपटक समावेशी प्यानलबाट भिमराना भाट र साझा प्रजातान्त्रिकको तर्फबाट टंक प्रसाद शर्मा महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचन अधिकृत टिकाजंग शाहले निर्वाचनको नतिजा घोषणा गरिसकेपछि टंक प्रसाद शर्माले पुनःमतगणना गरिपाउँ भनि निवेदन दिएका थिए । निर्वाचन अधिकारीले प्राविधिक रुपमा केहि कमजोरी भएको स्वीकार गर्दै उनले त्यसमा दुबै पक्षको सहमतिमा पुनः मतगणना गर्ने निर्णय गरिएको बताए ।
निर्वाचन कार्यालयले महासचिव पदका अर्का उम्मदेवार भिमराना भाटलाई सम्पर्क गर्दा उनले प्रयोग गर्ने नम्बरमा सम्पर्क हुन नसकेकोले एक विज्ञप्ती मार्फत सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाले बाँकी रहेको मतपत्र गणना गर्नु पर्ने माग सहित तालाबन्दी गरिएको बताए । उनले भने,‘हामीले कस्तो संस्कारको विकास गरिरहेका छौं । जबरजस्ती नतिजा सार्वजनिक गरिन्छ । पुरा मत गणना नगरी विजेता घोषणा गर्न मिल्छ र? यो प्रजातान्त्रिक व्यवस्थामा पनि यस्तो काम निर्वाचन अधिकारीबाट हुनु लज्जास्पद कुरा हो । यसमा कसैको जित हार भन्दा निःपक्ष रुपमा दुबै पक्षले न्याय पाउनु पर्छ । परिणाम जसको पक्षमा आएपनि हामी स्वीकार गछौं । तर पुरा मत गणना हुनु पर्छ ।’
नेपाली कांग्रेसका उप–सभापति एवम् साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको निर्वाचन परिचालन कमिटीका संयोजक गोपाल प्रसाद अधिकारीले महासचिव पदमा पुनः मतगणना हुनु पर्ने माग राखेका थिए । उनले भने, ‘संघको निर्वाचनमा यसअघि पनि यस्ता विवाद आउने गरेका थिए । बाँकी रहेका मत गणना गरेर मात्र नतिजा सार्वजनिक गर्ने गरिएको थियो । यहाँ निर्वाचन अधिकारीको नियतमा प्रश्न उठेका कारण महासचिव पदमा पुनः गणना हुनु पर्छ ।’
संघको निर्वाचनमा अध्यक्ष, अन्य पदाधिकारी र सदस्यहरुको छुटा छुटै मत रहेको थियो । पदाधिकारीलाई भोटिङ गरेको मतपत्र राख्ने बाकस पनि छुटै व्यवस्था गरिएको थियो । तर केहिले मतदाताले उक्त मतपत्र अन्य बाकसमा खसालेका थिए । त्यस्ता मतपत्रलाई छुटयाएर पछि गणना गर्ने सहमति भएको थियो । महासचिव पदमा पनि त्यस्ता मतपत्र अलग्गै राखिएको थियो । त्यही मतपत्र गर्न बाँकी रहेको बेला नतिजा सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो । पुरा मतपत्र गणना नगरेको भन्दैं महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए । उजुरी दिएपनि बाँकी रहेको मतपत्र गणना गर्न नमानेपछि विवाद बढेको थियो ।