क्रिकेट मैदानको अतिक्रमित जग्गा खालि गराउँदै कोहलपुर
Monday, August 21st, 2023, 7:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहोलपुर, ४ भदौ
कोहलपुर नगरपालिकाले कोहलपुर क्रिकेट मैदान क्षेत्र आसपासमा नगर विकासको जग्गा अतिक्रमित गरी बनाइएका संरचना खाली गर्न अन्तिम पटक सात दिनको समय दिइएको छ ।
कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा सम्बन्धमा सोमबार कोहलपुर नगरपालिकाले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा विभिन्न ३१ जना राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले नगर विकासको स्वामित्वमा रहेको जग्गामा निर्मित सरचना खाली गर्न सात दिनको समय दिने सहमति गरेका हुन् । साथै कार्यान्वयनका लागि समिति समेत गठन गरिएको छ ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय राजनीतिक दलका प्रतिनिधि सम्मेलित समिति गठन गरिएको हो । समितिमा नेपाली काँग्रेसका तर्फबाट नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमालेका तर्फबाट नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादीका तर्फबाट नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगर सभापति भरत पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर संयोजक रुद्रमणी न्यापने, नेकपा एकिकृत समाजवादीका तर्फबाट नगर अध्यक्ष शिव डाँगी, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट जिल्ला सचिव भूम बहादुर भण्डार, नेपाल मजदुर किसान पार्टीका तर्फबाट नगर अध्यक्ष खड्क थापा र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट नगर अध्यक्ष तिलक राज पौडेल रहेका छन् ।
कोहलपुर नगर विकास समितिको तेस्रो चरण क्षेत्र अन्तर्गतको कोहलपुर ३ (ख) को ३६ विघा जग्गा अतिक्रमणको चपेटामा छ । २०६२–०६३ सालदेखि क्रिकेट मैदान आसपासका जग्गाहरु अतिक्रमण गरि व्यक्तिहरु बसोबास गर्दै आएका छन् । नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा अहिलेसम्म ६१८ घरधुरी बसोबास रहेको तथ्याङ्क छ ।
सरकारी जमिनमा आफूखुसी संरचना निर्माण गरि प्रयोग गर्दै आइएको पाइएपछि विस २०७५ साल पुष २० गते, त्यसैगरी २०७६ साल माघ २४ गते र २०७९ साल भदौ २३ गते नगर विकास समितिको बोर्ड बैठकले संरचना हटाइ खाली गर्ने निर्णय गरेको थियो । २०७९ साल भदौ १४ गते ३५ दिने सूचना नै जारी गरेर संरचना हटाउन भनिएको थियो ।

…………..
पटक पटक संरचना हटाउन सूचना जारी गर्दा पनि अनाधिकृत संरचना नहटाएपछि नगरपालिकाले आज राजनीतिक दल, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र गृहप्रशासनलाई बोलाएर सरकारी जग्गा संरक्षणमा दवाव बढाएको हो ।