अझै सुरु भएन् महासचिव पदको पुनः मतगणना
Tuesday, August 22nd, 2023, 12:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ भदौं
विवाद भएपछि मंगलबार बिहान ८ बजे देखी पुनः मतगणना गर्ने भनिएको नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदको गणना अझै सुरु हुन सकेको छैन । दिउँसो १२ बजे सम्म पनि मतगणना स्थलमा प्रमुख निर्वाचन अधिकारी टिकाजंग शाह उपस्थित नभएपछि मतगणना कार्य सुरु हुन सकेको छैन ।
पुनः मतगणना गराउनको लागि नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी चुन्नाले प्रयास गरिरहेका छन् । तर महासचिव पदका टंक प्रसाद शर्मा मतदान स्थलमा उपस्थित भएपनि अर्का उम्मेदवार भिमराना भाट भने उपस्थित छैनन् ।
सोमबार निर्वाचन अधिकारी शाहले एक विज्ञप्ती जारी गर्दै विहान ८ बजेदेखि पुनः मतगणना गर्ने भनेर जानकारी गराएका थिए । त्यसका लागि महासचिव पदका दुबै उम्मेदवार भिमराना भाट र टंकप्रसाद शर्मालाई उपस्थित हुन जानकारी गराएका थिए । तर मंगलबार विहानै देखि निर्वाचन अधिकारी नै उपस्थित नभएपछि मतगणना कार्य प्रभावित भएको छ ।
सोमबार महासचिव पदको विजेता घोषणा गर्दा केहि मतपत्र गणना गर्न बाँकी रहेको बेला निर्वाचन कार्यालयले नतिजा सार्वजनिक गरेको थियो । त्यसपछि भएको विवाद बढदै गएपछि निर्वाचन कार्यालयमा तालाबन्दी समेत भएको छ । जुन अझै सम्म खुलेको छैन ।
१ हजार ९ सय २६ मत प्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार भिमराना भाटलाई निर्वाचन अधिकारीले विजेता घोषणा गरेका थिए । साझा प्रजातान्त्रिकका टंक प्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए । ६ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको थियो । तर त्यतिबेला केहि मतपत्र गणना गर्न बाँकी रहेको थियो ।
सम्पुर्ण मतपत्र गणना नगरिकन नतिजा सार्वजनिक गरिएपछि विवाद उत्पन्न भएको थियो । निर्वाचन कार्यालयका अधिकारीहरुको लापरबाही कारण विवाद उत्पन्न भएको व्यवसायीहरुले आरोप लगाएका छन । महासचिव पदमा केही छुटफुट मतपत्र पछि गणना गर्नको लागि एउटा खाममा राखिएको थियो । जुन गणना भएको थिएन् ।
खाममा भएको उक्त मतपत्र गणना नगर्दै निर्वाचन कार्यालयले महासचिवमा भाटलाई विजेता घोषणा गरेको थियो । निर्वाचनमा खटिएका केहि निर्वाचन अधिकृतले केहि मत गणना गर्न बाँकी रहेको भन्दैं रोक्ने प्रयास गरिएपनि हत्तारमा विजेता घोषणा गरिएपछि विवाद उत्पन्न भयो । जसले निर्वाचन अधिकारीहरुलाई समेत विवादमा तान्यो ।
निर्वाचन अधिकारीको गलत व्यवहार र क्रियाकलापको बिरोध गर्दै साझा प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले बिरोध गरेका थिए । बिरोध गर्ने क्रममा रंगशाला स्थित शारीरिक सुगठन हलमा रहेको निर्वाचन कार्यालयमा प्रजातान्त्रिक उद्योगी व्यवसायीहरुले तालाबन्दी गरे । पछि दुबै पक्षको सहमति मंगलबार बिहानदेखि पुनः मतगणना गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको थियो ।
समस्याको निकास निकाल्नको लागि निर्वाचन कार्यालयले समावेशी र साझा प्रजातान्त्रिक समुहका अध्यक्षका उम्मेदवारलाई बोलाएर छलफलको प्रयास गरेको थियो । छलफलपछि पुनः मंगलबार बिहान ८ बजेदेखि महासचिव पदको पुनः मतगणना गर्ने निर्वाचन कार्यालयले निर्णय हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा यसपटक समावेशी प्यानलबाट भिमराना भाट र साझा प्रजातान्त्रिकको तर्फबाट टंक प्रसाद शर्मा महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचन अधिकृत टिकाजंग शाहले निर्वाचनको नतिजा घोषणा गरिसकेपछि टंक प्रसाद शर्माले पुनःमतगणना गरिपाउँ भनि निवेदन दिएका थिए । निर्वाचन अधिकारीले प्राविधिक रुपमा केहि कमजोरी भएको स्वीकार गर्दै उनले त्यसमा दुबै पक्षको सहमतिमा पुनः मतगणना गर्ने निर्णय गरिएको बताए ।
निर्वाचन कार्यालयले महासचिव पदका अर्का उम्मदेवार भिमराना भाटलाई सम्पर्क गर्दा उनले प्रयोग गर्ने नम्बरमा सम्पर्क हुन नसकेकोले एक विज्ञप्ती मार्फत सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाले बाँकी रहेको मतपत्र गणना गर्नु पर्ने माग सहित तालाबन्दी गरिएको बताए । उनले भने,‘हामीले कस्तो संस्कारको विकास गरिरहेका छौं । जबरजस्ती नतिजा सार्वजनिक गरिन्छ । पुरा मत गणना नगरी विजेता घोषणा गर्न मिल्छ र? यो प्रजातान्त्रिक व्यवस्थामा पनि यस्तो काम निर्वाचन अधिकारीबाट हुनु लज्जास्पद कुरा हो । यसमा कसैको जित हार भन्दा निःपक्ष रुपमा दुबै पक्षले न्याय पाउनु पर्छ । परिणाम जसको पक्षमा आएपनि हामी स्वीकार गछौं । तर पुरा मत गणना हुनु पर्छ ।’

………….