प्रमुख निर्वाचन आयुक्त सिंह अस्पतालमा भर्ना, तिन दिन पछि महासचिव पदको मतगणना गरिने
Tuesday, August 22nd, 2023, 3:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज,५ भदौं
प्रमुख निर्वाचन आयुक्त टिका जंग सिंह बिरामी भएर अस्पतालमा भर्ना भएपछि विवाद स्पद बनेको नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदको आज हुने भनिएको पुनः मतगणना कार्य स्थगित भएको छ ।
मंगलबार बिहानै ८ बजेदेखि महासचिव पदको पुनः मतगणना गर्ने भनेर प्रमुख निर्वाचन आयुक्तले सोमबार विज्ञप्ती जारी गरेका थिए । आज बिहानै मतगणना स्थलमा भिडभाड बढेको थियो । तर प्रमुख निर्वाचन आयुक्त बिरामी भएर वेस्र्टन अस्पतालमा भर्ना भएपछि मतगणना कार्य प्रभावित बनेको हो ।
निर्वाचन आयुक्त सिंहले आज दिउँसो २ बजेतिर एक विज्ञप्ती जारी गर्दै अस्वस्थ भएर अस्पतालमा भर्ना भएकोले निर्वाचन सम्बन्धी बाँकी कार्य तिन दिनको लागि स्थगित गरेको जानकारी गराएका छन् ।
आयुक्त सिंह वेस्र्टन हस्पिटलमा भर्ना भएका छन् । वेस्र्टन अस्पतालका निर्देशक डा. राहुल थापाका अनुसार सिंह मुटुको बिरामी भएको र उनको सुगर तथा प्रेसरको समस्या देखिएको छ । हाल सिंहलाई अस्पतालको हाई डिपेन्डेन्सी युनिट(एचडियु) युनिटमा भर्ना गरिएको छ ।

………….
प्रमुख निर्वाचन आयुक्त सिंहले महासचिव पदको नतिजा सार्वजनिक गरेपछि विवादमा तानिएका थिए । महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले सम्पुर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दैं पुनः मतगणना गर्नु पर्ने माग राख्दै निर्वाचन कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले निर्वाचन कार्यालयमा तालाबन्दी गरिरहेका छन् ।