डुडुवाद्धारा कृषि मूल बीउ उत्पादन शुरु
Wednesday, August 23rd, 2023, 7:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा ६ भदौ
किसानलाई विउ वितरण गर्न डुडुवा गाउँपालिकाले यस वर्षदेखि वीउ उत्पादनको काम शुरु गरेको छ । यस वर्ष धान रोपाई हुनु अगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्र्तगत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ ।
किसानहरुको जमिनमा लगाइएको मुल बीउपछि उन्नत बीउ तयार गरि आगामी वर्ष किसानहरुलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशील कुमार शर्माले बताए । उनका अनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरि सहकारीमार्फत किसानलाई वितरण गरिनेछ ।
९० टन बीउले एक हजार ५०० हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा–४ र राम धानको मुल बीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ । मुल वीउ उत्पादनपछि वीउविजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताए ।
बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलीले चार पटकसम्म प्रमाणीकरण गर्न अनुगमन गरिने छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) खजुराबाट रु ८५ प्रतिकिलो दरमा वीउ खरिद गरि ल्याइएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र सामाग्री र सिचाई सेवा उपलब्ध गराइएको शाखा प्रमुख शर्माले बताए । उनका अनुसार डुडुवा गाउँपालिकाले यस वर्ष धान बीउ उत्पादनका लागि रु २० लाखको लगानी गरेको छ । यो वर्ष उत्पादित वीउलाई आगामी वर्ष किसानहरुलाई सहकारीमार्फत सहुलियत दरमा किसानहरुलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
पालिकाले उन्नत जातको वीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । धानको उन्नत बीउ तयार भएपछि यस वर्षदेखि पालिकाले निमार्ण गरेको अत्याधुनिक वीउ प्रशोधन केन्द्रमा वीउ भण्डारणको काम शुरु गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले गहुँ, मकै र मसुरोको बिऊ उत्पादन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार बीउ उत्पादन तथा भण्डारणपछि पालिकाका कुनैपनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउदैन, पालिकाले नै सहुलियत दरमा बीउ र मलखाद वितरण गरि कृषि उत्पादनमा बृद्धि गर्ने छ ।
अध्यक्ष चौधरीले किसानलाई बिऊमा आत्मनिर्भर गराउने पालिकाको रणनीति अनुसार वीउ भण्डार शुरु गरेको र बिऊ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरि सञ्चालनमा ल्याइएको बताए । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा – २ स्थित ६ सय मेट्रिक टन क्षमताको बिउ भण्डारण घर स्थापना गरिएको छ ।
डुडुवाको कुल क्षेत्रफल ९ हजार १ सय २८ हेक्टर रहेको छ । त्यसमा खेतीयोग्य जमिन ४ हजार २ सय १८.०९ हेक्टर रहेको छ । वडा अनुसार हेर्दा सबैमा आधा क्षेत्रफल मात्रै खेतीयोग्य जमिन छन् । पालिकामा धानबालीको औषत उत्पादन प्रतिहेक्टरमा ४ दशमलव ३ मेट्रिक टन रहेको छ । मकैबाली प्रतिहेक्टरमा ८० मेट्रिक टन, आलु प्रतिहेक्टरमा २८ मेट्रिक टन र तरकारी बाली प्रतिहेक्टरमा १० मेट्रिक टन उत्पादन हुने गर्दछ ।