पदभार हस्तान्तरण रोक्न प्रशासनमा उजुरी
Sunday, August 27th, 2023, 8:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० भदौं
विवादित बनेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनबाट आएको कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रम रोक्नको लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी परेको छ ।
आइतबार साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह समर्थक व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिदैं पदभार हस्तान्त्रण कार्यक्रम रोक्नको लागि माग गरेका छन् ।
गत भदौं २ गते भएको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको विषयलाई लिएर विवाद उत्पन्न भैरहेको छ । मतदाताले दिएका सम्पुर्ण मतपत्र गणना नगरी महासचिव पदको नतिजा सार्वजनिक गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले बिरोध गर्दै आएका छन् ।
शनिबार पत्रकार सम्मेलन गरेर चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
उद्योग वाणिज्य संघको निर्वाचनका प्रमुख आयुक्त टिकाजंग सिंहले एकपक्षिय रुपमा नतिजा घोषणा गरेको भन्दैं प्रजातान्त्रिक उद्योगी व्यवसायिहरुले बिरोध गर्दै आएका छन् ।
निर्वाचन आयुक्त सिंहले महासचिवमा १ हजार सय २६ मत सहित भिमराना भाटलाई विजेता घोषणा गरेपछि उनका प्रतिस्पर्धी टंक प्रसाद शर्माले सम्पुर्ण मतपत्र गणना नभएको भन्दैं निर्वाचन कार्यालयमा निवेदन दिएका थिए । नतिजा घोषणा गर्दा शर्माले १ हजार ९ सय २० मत ल्याएका थिए । नतिजाको विषयलाई लिएर विवाद बढदैं गएपछि निर्वाचन आयुक्त सिंहले एक सुचना जारी गर्दै भदौं ५ गते नेपालगन्ज रंगशालामा बिहान ८ बजेदेखि महासचिव पदको पुनःमतगणना गर्ने बताएका थिए । तर ५ गते बिहानैं प्रमुख आयुक्त स्वास्थ्य स्थिती बिग्रिएको भन्दैं अस्पतालमा भर्ना भए ।
अस्पतालमा भर्ना हुँदै उनले तिनदिन सम्म पुनः मतगणना कार्य स्थगित भएको फेरी अर्को एक सुचना जारी गर्दै जानकारी गराएका थिए । अस्पतालमा भर्ना भएपछि प्रमुख आयुक्तले सुरुआतमा घोषणा गरेको नतिजा नै यथावत रहने भनेर संचार माध्यमलाई बताएपछि अवस्था विवाद बढदैं गएको थियो ।
निर्वाचन आयुक्त दबाब र प्रभावमा परेर नतिजा सुनाएको भन्दैं प्रजातान्त्रिक उद्योगी व्यवसायि समुहका समर्थकहरुले रंगशालामा नारावाजी समेत गरेका थिए ।
संघको कार्यालय अगाडी पनि तिनदिन देखी तालाबन्दी गदैं महासचिव पदमा पुनः मतगणना गर्नु पर्ने माग राख्दैं उनीहरुले बिरोध गरिरहेका छन् ।
यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायिहरुले नेपालगन्ज उद्योग वाणिज्य संघको विधान र निर्वाचन सम्बन्धी मान्य सिद्धान्त विपरित गरिएकोले मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी सम्पुर्ण कार्य बदर गर्न माग गरेका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिदैं प्रजातान्त्रिक उद्योगि व्यवसायिहरुले मतदाता नामावली, मतदान र मतगणनाको बारेमा निष्पक्ष छानबिनको माग गरिएको छ । नक्कली र किर्ते कागजातको प्रयोग गरी सदस्यता वितरण गरेको भन्दैं त्यसको छानबिनका लागि प्रशासनलाई व्यवसायिहरुले माग गरेका छन् ।
निर्वाचन आयुक्त टिकाजंग सिंहको क्रियाकलाप र गतिविधिमा लज्जास्पथ भएको भन्दैं त्यसको बिरोधमा आवाज उठाएको बताउँछन साझा प्रजातान्त्रिक उद्योगी व्यवसायि समुहका संयोजक संजय थापा । निर्वाचन आयुक्त कारण संघको इतिहासमै पहिलो पटक विधि, विधान र नियम विपरित काम भएको भन्दैं त्यसको विरुद्ध खबरदारी गर्न नेपालगन्जका आम उद्योगी व्यवसायीहरुलाई थापाले अपिल गरेका छन् ।