खजुराका अध्यक्ष विकले एमाले अध्यक्ष कक्षपतिलाई गाली गरेपछि…..
Sunday, August 27th, 2023, 9:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० भदौं
नेकपा एमाले बाँकेले खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले आफना नेतालाई फोनमा अमर्यादित रुपमा गाली गरेको भन्दैं त्यसको बिरोध जनाएको छ । आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले पोलिटब्युरो सदस्य एवम् बाँके जिल्ला इन्र्चाज खेममान खड्का र जिल्ला अध्यक्ष किस्मत कुमार कक्षतिलाई विकले अपमान जनक रुपमा गाली गरेको बताएका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष विक र इन्र्चाज खड्का बिचको संवाद पनि सुनाइएको थियो ।
बाँके जिल्ला इन्र्चाज खड्काले पार्टीको कामको सिलसिलामा आफुले अध्यक्ष कक्षपतिलाई फोन गर्दा उनले अपमान जनक रुपमा आफुसँग संवाद गरेको पत्रकार सम्मेलनमा बताए । उनले भने,‘मैले फोन गरेको नम्बर पहिला कक्षपति कमरेडले प्रयोग गर्नु भएको थियो । पछि थाहा भयो त्यो गाउँपालिकाको नम्बर रहेछ । मैले एमाले अध्यक्ष कक्षपतिलाई सम्पर्क गर्न खोज्दा उहाँसँग(विक) कुराकानी भयो । तर उहाँले फोनमै कक्षपतिलाई अपमानित हुने शब्द प्रयोग गर्दै मलाई पनि गाली गर्नु भयो ।’
गाउँपालिकाको नाममा रहेको मोबाइल नम्बर ९८५८०६०११५ नम्बरमा कुराकानी गर्ने क्रममा अध्यक्ष डम्बर बहादुर बिकले एमाले अध्यक्ष कक्षपतिलाई अमानवीय, अमर्यादित र अति तुच्छ शब्द प्रयोग गर्दै पार्टीको नेता एवम् इन्चार्ज समेतलाई गाली, बेइजती र अपशब्द प्रयोग गरेकोमा एमाले बाँकेले आपत्ति जनाएको छ ।
एमाले अध्यक्ष कक्षपतिले भने,‘म गाउँपालिकाको निर्वतमान अध्यक्ष हुँ । गाउँपालिकाको समग्र विकासको अभिभारा पाएको अध्यक्षले यस्तो तल्लो स्तरको शब्द प्रयोग गर्नु आफैंमा लज्जास्पथ कुरा हो । यसको जति निन्दा गरेपनि हुँदैन । यस्ता क्रियाकलाप तत्काल सच्चाउन हामी अध्यक्ष विकलाई सचेत गराउँछौं ।’
एमाले अध्यक्ष कक्षपतिले आफुहरु नेपाल सरकारको कानुन अनुसार कानुनी उपचारमा समेत जाने पत्रकार सम्मेलनमा बताए । नेता खड्काले शिष्ट, मर्यादित भाषामा संबाद गर्दागर्दै पनि अध्यक्ष विकले निच, तुच्छ र गैर जिम्मेवारी पूर्ण व्यवहार र भाषा प्रयोग गरी कक्षपतिलाई गाली गलौच गरेको संबाद अभिलेखमा रहेको प्रचार विभाग प्रमुख निरौलाले बताए । घटनाको लामो समय हुँदाहुँदै अध्यक्ष कक्षपति र नेता खड्कासँग व्यक्तिगत र सार्वजनिक रुपमा अध्यक्ष विकले गल्ती समेत महशुस नगर्दा घटना सार्वजनिक गर्न परेको उनले बताए ।