सिन्धुपाल्चोकको लिदी पहिरोमा भेटिएका मृतक ११ जनाको सनाखत, ५ घाइतेको उपचार हुँदै
Saturday, August 15th, 2020, 11:27 am
amit
सिन्धुपाल्चोक, साउन ३१ । शुक्रबार सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेर मृत्यु भएकाहरूको सनाखत भएको छ ।
सो पहिरोमा परी चार महिनाको बालकसहित ११ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार सो पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया सानो कान्छी भन्ने दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ, पाँच महिनाकी बालिका तारालामु दोङ, ३४ वर्षीया धनमाया तामाङ, चार महिनाका बालक रेमिश दोङको मृत्यु भएको हो ।
त्यस्तै उनीहरूमध्ये केहि एकै परिवारका सदस्य रहेका छन् ।
लिदी लामागाउँमा गएको पहिरोमा ३७ घर पुरिएर ३९ जना बेपत्ता थिए । तीमध्ये ११ जनाको शव भेटिसकेको छ र ती शवहरुको सनाखत गरेर कानूनी प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ। पहिरोमा बेपत्ता भएकाहरुको खोजि कार्य जारी छ ।
त्यस्तै सो पहिरोमा परी घाइते भएका जुगल गाउँपालिका २ लिदीका ९ वर्षीय रूपबहादुर दोङ, ४३ वर्षीया जुनुमाया दोङ, ६० वर्षीया केवरिङ तामाङ, २३ वर्षीया पासाङ दोङको चौतारा अस्पतालमा र करिब ५० वर्षीया यामुलामु दोङको काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।