४२ जनामा कोरोना संक्रमण देखिएपछि थप संक्रमण फैलिन नदिनका लागि काठमाडौं महानगरपालिका १४ सिल
Saturday, August 15th, 2020, 5:59 pm
amit
काठमाडौं, ३१ साउन । काठमाडौं महानगरपालिका–१४ ले कोरोना भाइरसको सङ्कमण फैलिन नदिनका लागि वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ ।
त्यस्तै वडा कार्यालयकाअनुसार हाल दैनिक सञ्चालनमा आएका प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने छ भने भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ ।
यसैगरी अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । साथै स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ ।
वडाभित्रका स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने तथा अनावश्यक भीड गर्ने र पसल खोल्ने व्यवसायीलाई कारबाही गरिने व्यवस्था गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिएकी छिन् ।
वडामा अहिलेसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
वडाअध्यक्ष सापकोटाका अनुसार काठमाण्डौ महानगरपालिका कार्यालयसँग समन्वय गरी वडा कार्यालयले बल्खु, टेकुलगायत स्थानमा निःशुल्क पीसीआर परीक्षण गराएको तथा अन्य स्थानमा समेत परीक्षण बढाउन प्रयास गरेको छ । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।