सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा पुरिएकामध्ये १९ जनाको शव झिकियो, अझै २० बेपत्ता
Sunday, August 16th, 2020, 1:23 pm
amit
सिन्धुपाल्चोक, ३२ साउन । गत शुक्रबार सिन्धुपाल्चोकको जूगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये १९ जनाको शव झिकिएको छ भने अझै बेपत्ता रहेका २० जनाको खोजी जारी रहेको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाद्वारा आज जारी विज्ञप्ति अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरि जम्मा १९ जनाको शव फेला परिसकेको छ भने उक्त पहिरोमा परि हराइरहेको २० जनाको खोजी कार्य जारी रहेको छ ।
त्यस्तै गत शुक्रबार बिहान ६ः३० बजे लिदीमा पहिरो गएको थियो र सो पहिरोले ३७ घर पुरेको थियो ।
यसैगरी पहिरो गएपछि नेपाली सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य निकायहरुको सहयोगमा उद्धार तथा खोज कार्य शुरू गरेको थियो ।
सेनाले लिदिमा साउन ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामाग्री ढुवानी गरेर पुर्याएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सो क्षेत्रमा स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ ।