मेयर कप फुटबलमा बाल विद्या मन्दिर र कृष्ण माविको सहज जित
Wednesday, January 31st, 2024, 6:27 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १७ माघ
बालबिद्या मन्दिर कोहलपुर र कृष्ण मावि कोहलपुरले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा सहज जित हासिल गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा बाल विद्याले नेपालगन्जको ब्राइटल्यान्ड कलेजलाई ८–२ ले पराजित गरेको छ ।
बाल विद्याको जितमा बिपिन सिंजालीले जारी प्रतियोगितामा व्यक्तितर्फ सर्वाधिक ६ गोल गरे । उनले १०, १२,१८,२७,३३ र ५८औं मिनेटमा गोल गरेका थिए । सन्देश न्यौपानेले २ र ४५औं मिनेटमा गोल गरे । ब्राइटल्यान्डका लागि अमित बुढाथोकीले २२औं र ४०औं मिनेटमा गोल गरे । उक्त खेलमा बाल विद्याका बिपिन सिंजाली म्यान अफ द म्याच घोषित भए ।
उनलाई महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष एवम् सिटी कलेज अफ म्यानेजमेन्टको संचालक साबित्रा पोखरेल वस्नेतले पुरस्कृत गरिन् ।
यसैगरी अर्को खेलमा कृष्ण माविले नेपालगन्जको सनविम स्कुललाई ८–० ले हरायो । सनविमको जितमा निर्मल परियार र कृष्ण श्रेष्ठले २–२ गोल गरे । कृष्णले ५०, ५९ औं मिनेटमा गरेका थिए । कृष्णले २७ र ४१औं मिनेटमा गोल गरे । संगित परियार, नविन विक, विशाल बारघरे र धिरज गुरुङले १–१ गोल गरे । विशालले ९औं मिनेट, नविनले ३२औं मिनेट, संगितले ३६औं मिनेट र धिरजले ४६औं मिनेटमा गोल गरे ।
उक्त खेलमा कृष्ण माविका कृष्ण श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दिप जंग शाहले पुरस्कृत गरे ।
प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेलमा जय बागेश्वरी स्कुल नेपालगन्ज र बागेश्वरी एकेडेमी कोहलपुर (विहान १०ः३० बजे), दोस्रो खेल सेन्ट थोमस र ग्रीनपीस मावि (दिउँसो १२ः३० बजे), तेस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र मोर्डन पब्लिक स्कुल(दिउँसो १ः३०) र चौथो खेल लक्ष्मी मावि बर्दहवा र ड्रिमल्यान्ड स्कुल राझा बिच(दिउँसोः २ः३० बजे) हुने प्रतियोगिता संयोजक निर्मल चन्दले बताए ।

………..
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।