नवौं डाँफे कपको उपाधि न्यु दर्पणलाई
Tuesday, February 6th, 2024, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २३ माघ
गत १५ गतेबाट बाँकेको खजुरामा जारी नवौं डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खजुरा ४ को न्यु दर्पण युवा स्पार्टस् क्लवले चुमेको छ । खजुरा ४ डी गाउँ स्थित मिनी रङ्गशालामा दर्शकको भरिभराउ उपपिस्थतीका बीच भएको आजको रोमाञ्चक खेलमा ट्राइवेकरको आधारमा न्यु दर्पणले उपाधि चुमेको हो ।
खेलसुरु भएको मध्यान्तर सम्म गोल गर्न नसकेका न्यु दर्पण र बाग्मती स्पोर्टस क्लवको खेलमा दोस्रो हाफको २६ औ मिनेटमा न्यु दर्पणका जर्सी नम्बर १० का खेलाडी धनसिंह बिकले पहिलो गोल गर्दै खाता खोलेका थिए । बिकले खोलेको खाता सहितको अग्रता भने धेरै बेर कायम हुन सकेन ।
दोस्रो हाफका ३५ औ मिनेटमा बाग्मती स्पोर्टस् क्लवका जर्सी नँबर ११ का श्याम ब्यादीले गोल फर्काउँदै खेललाई बराबरीमा रोकेका थिए । त्यसपछिका खेलमा दुबै क्लवका पटक पटकको गोल गर्ने प्रयास असफल भएपछि प्रतियोगिता ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा न्यु दर्पणले ७ गोल प्रहार गर्दा बाग्मती स्पार्टस् क्लव भने ६ गोलमा चित्त बुझाउन बाध्य बनेको थियो । प्रतियोगिताको उपाधि चुमेको न्यु दर्पणले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।
खेलको उपविजेता न्यु बाग्मतीले ८५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ । विजेता टिमलाई खजुरा गाउँपालिकाकी उप प्रमुख मन्जु मल्ल चन्दले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिन् । प्रथम पुरस्कार राशि लिल बहादुर थापाले सौजन्य गरेका हुन् भने दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।
प्रतियोगिताको समापन समारोहमा खजुरा क्षेत्रबाट राष्ट्रिय खेलकुदमा पदक जित्न सफल ८ जना पुर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रथम पुरस्कार सौजन्य गर्ने खजुरा गाउँपालिका ४ डि गाउँ स्थायी घर भएका हाल अमेरिका रहने लिलबहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै दोस्रो पुरस्कार सौजन्य गर्ने तिलक विक सिहालिलाई पनि विशेष सम्मान गरिएको न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले जानकारी दिए । न्यु दर्पणका गोल किपरले टाउकामा चोट सहेर पनि टिमलाई जिताउन खेल खेलेको भन्दै प्रोत्साहन स्वरुप लिल बहादुर थापाले एक सेट केलमी ब्रान्डको ट्राक सरप्राइज रुपमा प्रदान गरे ।
………….
साथै खेललाई भव्य रुपमा सम्पन्न गर्न सफल भएको भन्दै खेल संयोजकलाई एक सेट ट्राक मायाको चिनोको रुपमा थापाको प्रतिनिधित्व गर्दै पत्रकार खगेन्द्र दाहालले प्रदान गरे । प्रतियोगितामा १४ टिमले भाग लिएका थिए ।
………….