खजुराका वडा अध्यक्ष गरिबेले हाने कर्मचारीलाई मुक्का
Wednesday, February 7th, 2024, 9:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ माघ
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ अध्यक्ष गरिबे शेखले पालिकाकाका प्राविधिक लिला राज धामीलाई बुधबार मुक्का प्रहार गरेका छन् ।
वडा अध्यक्ष एवम खजुरा गाउँपालिका स्थित भानु मावि उढरापुरको विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका शेखले पालिकाका प्राविधिक धामीलाई आफुले भने अनुकुलको प्रतिवेदन तयार गर्न नमानेको भन्दैं मुक्का प्रहार गरेका हुन् ।
आर्थिक वर्ष २०८०–०८१ को बजेट अनुसार दुइ लाख रुपैयाँमा भानु मावि विद्यालयको मैदानमा माटो पटानको काम भैरहेको छ ।
माटो पटानको कार्य सम्पन्न प्रतिवेदनको मुल्याकन गर्नको लागि प्राविधिक टोली निर्माण स्थलमा गएको थियो । तर वडा अध्यक्षले मैदानको नापजाँच नगरी सम्झौता रकम अनुसारको प्रतिवेदन तयार गर्न प्राविधिकलाई दबाब दिएका थिए ।
प्राविधिकले कामको नापजाँच नगरी प्रतिवेदन बनाउन नसक्ने भनेपछि वडा अध्यक्ष शेषले प्राविधिकलाई रिस झोकमा मुक्का प्रहार गरेका थिए ।
पटक पटक विवादमा आइरहने वडा अध्यक्ष शेखलाई कारबाही नभए सम्म खजुरा गाउँपालिकाका सम्पुर्ण कर्मचारीले आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबारै एक विज्ञप्ती जारी गर्दै खजुराका कर्मचारीले पालिकामा आफुहरुलाई काम गर्ने वातावरण नभएको भन्दैं आन्दोलनमा उत्रिएका छन् ।
मुक्का प्रहार गर्ने वडा अध्यक्ष विरुद्ध प्रहरीमा उजुरी दिने कर्मचारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । घटनाको निस्पक्ष छानविन नभए सम्म चरणवद्ध रुपमा आन्दोलन गर्ने कर्मचारीहरुले घोषणा गरेका छन् ।