चीनको सफलताको मूल आधार माक्र्सवादी राजनीतिक अर्थव्यवस्था हो, पुँजीवादको नक्कल गर्नुहुँदैन : सी जिङ्गपिङ्ग
Sunday, August 16th, 2020, 6:55 pm
amit
एजेन्सी, ३२ साउन । चिनियाँ राष्ट्रपति सी जिङ्गनपिङ्गले चीनले प्राप्त गरेको सफलताको मूल आधार माक्र्सवादी राजनीतिक अर्थव्यवस्था भएको बताएका छन् ।
उनले देशको माक्र्सवादी राजनीतिक अर्थव्यवस्था कुनै पनि हालतमा परिवर्तन नहुने स्पष्ट पार्दै चीनले पुँजीवादी व्यवस्थाको नक्कल गर्न नहुने बताएका छन् ।
द्वैमासिक जर्नल चुसीमा शनिबार प्रकाशित सीको लेख अनुसार चीनको राजनीतिक अर्थव्यवस्थाको आधार माक्र्सवादी राजनीतिक अर्थव्यवस्था मात्र बन्न सक्ने र अरु कुनै आर्थिक सिद्धान्तमा आधारित हुन सक्दैन ।
त्यस्तै चीनको आर्थिक मोडेल नै चिनियाँ विशेषतासहितको समाजवादको आधारस्तम्भ भएको उनले बताएका छन् । जसले आर्थिक विकासलाई निर्देशित गर्नुका साथै कम्युनिस्ट पार्टीको शासनलाई सुनिश्चित गरेको पनि उनको भनाइ रहेको छ ।
सीका अनुसार चीनको माक्र्सवादी राजनीतिक अर्थव्यवस्था पुरानो भएको भन्ने आरोपलाई अमान्य भएको र सोही अर्थव्यवस्थाले स्रोत जुटाउने मामिलामा बजारलाई निर्णायक भूमिका खेल्न दिनुका साथै सरकारको भूमिकालाई पनि बढाएको छ ।
सार्वजनिक स्वामित्वको प्रधानता र अर्थतन्त्रमा राज्यको नेतृत्वलाई हल्लाउन सकिन्न र चीनले पश्चिमा विचारधारा वा पुँजीवादी प्रणालीको नक्कल गर्न खोज्नु हुँदैन । साथै धेरै पुँजीवादी मुलुकहरुले आर्थिक मन्दी, बेरोजगारी, बढ्दो ध्रुवीकरण, गहिरिँदो सामाजिक द्वन्द्वजस्ता समस्या खेपिरहेका छन् भनेर उनले लेखेका छन् ।
पछिल्लो समयदेखि अमेरिकासँग व्यापार, प्रविधि, विचारलगायतका विषयमा जारी संघर्षका क्रममा सीको यस्तो विचार सार्वजनिक भएको हो ।