लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये थप ३ जनाको शव फेला पर्यो, मृतकको संख्या २२ पुग्यो
Monday, August 17th, 2020, 1:48 pm
amit
सिन्धुपाल्चोक, १ भदौ । जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेको छ ।
पहिरोमा परी बेपत्ता भएका ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ जनाका शव झिकिएको थियो । सोमबार थप तीन शव पहिरोले पुरिएको अवस्थामा फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जानकारी दिएको छ ।
अहिलेसम्म ३६ वर्षीया टीकामाया दोङ , १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाक्री, ८ वर्षका मिलन दोङ, ८ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावाल्हामु दोङ, ५ वर्षकी प्रीति दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षकी धनमाया दोङ, ४ महिनाको रेमिस दोङ, १६ वर्षका माइलापराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षकी लक्ष्मी दोङ, १२ वर्षका हिन्दुस दोङ , ३० वर्षका मानबहादुर दोङ, २२ वर्षका छविलाल दोङ, ६ वर्षका सुमन दोङ, १० वर्षका सुरज दोङको शव फेला परेको छ ।
त्यस्तै प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार बर्षाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा सशस्त्र, नेपाल प्रहरी र सेनाको ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ताको खोजी गरिरहेको छ ।