सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि कार्यशाला सुरु
Wednesday, February 28th, 2024, 5:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ फागुन
नेपालगन्ज उप–महानगरपालिकाका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकका लागि तालिम आयोजना गरिएको हो ।
तीन दिने कार्यशालाको नेपालगन्ज उप–महानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले उद्घाटन गर्नुभयो ।
त्यसक्रममा बोल्दै समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष पुनले कुनै पनि संस्थालाई असल तरिकाले हाँक्नका लागि कुशल नेतृत्व र ब्यवस्थापकको खाँचो पर्ने भन्दै यो तालिम पश्चात सहकारीको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । पुनले सहकारी अभियानलाई स्वस्थ, विश्वसनीय र उत्तरदायी बनाउन नेपालगन्ज उप–महानगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा नेतृत्व तथा व्यवस्थापन विकास प्रशिक्षक शिवप्रसाद भुषाल, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय लगायतको उपस्थिति थियो ।
तालिममा नेतृत्व तथा व्यवस्थापन विकास विज्ञ भुषाल, सहकारी शाखा प्रमुख प्रविण राना र जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले प्रशिक्षण दिनुहुने सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताउनुभयो । सहकारी शाखाले यसअघि तीन दिने सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम पनि सञ्चालन गरेको थियो । सहकारी संघसंस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन, प्रवद्र्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको शाखा प्रमुख रानाले बताउनुभयो ।