बाँकेमा १ अर्ब लगानीमा होटेल पौवा खुल्दैं
Thursday, February 29th, 2024, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ फागुन
‘जहाँबाट आतिथ्यताको सुरुआत हुन्छ’ भन्ने मुल आदर्शलाई आत्मसाथ गरेर अगाडी बढिरहेको होटेल पौवाले बाँकेमा पाँचतारे होटल निर्माणको काम सुरु गरेको छ ।
बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा पौवाले आफनो १३औं शाखा विस्तार गर्न लागेको हो । तर बाँकेमा भने पौवाले पहिलो पटक पाँचतारे होटल संचालन गर्ने तयारी गरेको छ । बिहिबार होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवाली, अध्यक्ष दुर्गा प्रसाद भण्डारी सहित संचालक सदस्यहरुले जग पुजा गरेर बाँकेमा खुल्न लागेको होटलको बारेमा जानकारी गराएका हुन् ।
करिब १ अर्ब लगानीमा बाँकेको जानकी गाउँपालिकामा निर्माण सुरु भएको होटल बन्न दुई वर्ष लाग्ने होटेल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार नेपालगन्जमा बन्न लागेको होटेलमा फरक–फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा सभाहल सहित १४ बैठक कक्ष, ७ स्वीट रुम सहित ८० डिलक्स रुम, पौडी पोखरी, क्यासिनो र स्पा सेन्टर लगायतका सुविधाहरु रहनेछन् ।

……………
बाँकेको पश्चिम क्षेत्रलाई जोडने नेपालगन्ज–गुलरिया सडक खण्ड अन्तर्गत जानकी गाउँपालिका छनोट गरेको होटल पौवा करिब २ विघा जमिनमा निर्माण गरिने अध्यक्ष भण्डारीले बताउनु भयो ।

…………….
होटल पौवा प्रालि संचालक सदस्य ध्रुवराज न्यौपानेले नेपाली हस्पिटालिटीलाई अन्तराष्ट्रिय स्तरमा विकास गर्ने हाम्रो मुख्य लक्ष्य रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘विश्वभरी आफनो सांस्कृतिक पहिचान दिन सक्ने भनेको होटल उद्योग हो । यो उद्योगको विकास भएपछि मात्र देशको विकास भएको महसुस गर्न सकिन्छ । हाम्रो पहिलो लक्ष्य नेपालमा एक सय वटा शाखा विस्तार र अन्तराष्ट्रिय स्तरमा आफनो पहिचान बनाउने हो ।’
नेपालगन्जमा सबैभन्दा उत्कृष्ट होटलको सुरुआत गर्ने तयारी सहित काम गरिरहेको न्यौपानेले बताउनु भयो । उहाँले भन्नु भयो, ‘एक वर्षमा केहि सेवा सुविधा सुरु हुनेछ । पौवाले मुल्य बढी लिएर होइन कम मुल्यमा पनि उत्कृष्ट सेवा दिन सकिन्छ भन्ने प्रमाण पेश गरेको छ । हामीले तिव्र गतिमा शाखा विस्तार गरिरहेका छौं । यसलाई सामुहिक रुपमा गर्न सकिन्छ ।’
होटल पौवामा आवद्ध २ सय भन्दा बढी लगानीकर्ता र ६ सय भन्दा बढी कर्मचारीहरुको मिहिनेतका कारण पौवाले आफनो छुटै पहिचान बनाउन सफल भएको उहाँले बताउनु भयो ।
स्थापनाको ८ वर्षमा पौवाले लुम्बिनी प्रदेशका प्राय सबै प्रर्यटकीय क्षेत्रमा आफनो शाखा विस्तार गरिसकेको छ । कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिमको धनगढी, बाग्मति प्रदेशको काठमाडौं र सौराहामा सेवा सुरु गरिसकेको छ ।
भैरहवाबाट सुरु भएको होटल पौवाले दाङको भालुवाङ, लमही, घोराही, बुटवलको योगी कुटी, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा अन्तराष्ट्रिय स्तरको रिसोर्ट संचालन गरिरहेको छ । पौवाले कोशी प्रदेश र मधेशको जनकपुरमा होटल संचालनको प्रारम्भिक तयारी गरिरहेको अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनु भयो ।