नेपालगन्ज सेन्ट जेभियर्स र कैलालीको गुरुकुलले मैत्रीपुर्ण फुटबल खेल्दैं
Friday, March 1st, 2024, 10:48 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ फागुन
बाँकेको नेपालगन्ज सेन्ट जेभियस स्कुल र कैलालीको गुरुकुल इङलिस मिडियम स्कुलबिच शनिबार मैत्रीपुर्ण खेल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा डुडुवा गाउँपालिकाको कम्दीमा हुन लागेको मैत्री पुर्ण खेल नवदुर्गा खेल मैदानमा हुनेछ ।
नेपालगन्ज सेन्ट जेभियर्स स्कुल बाँके जिल्ला फुटबल संघले गत महिना आयोजना गरेको मेयर कप अन्तर विद्यालय छात्र फुटबल तर्फ बाँकेको च्याम्प्यिन टिम हो ।
कैलालीको गुरुकुल पनि मेयर कप फुटबलको पुर्व विजेता टोली हो । जुनियर स्तरका खेलाडीलाई अवसर र क्षमता अभिवद्धि गर्ने उद्देश्यले दुई जिल्लाका च्याम्पियन स्कुलबिच मैत्रीपुर्ण फुटबल आयोजना गर्न लागेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘हामीले दुई वर्ष पछि बाँकेमा मेयर कप फुटबल गरेको थियौं । प्रतियोगिता निकै भव्य रुपमा सम्पन्न भयो । विद्यालयस्तरबाटै हो नयाँ प्रतिभावान खेलाडी उत्पादन हुने । मेयर कप फुटबल विजेतालाई थप अवसर प्रदान गर्नको लागि हामीले मैत्रीपुर्ण फुटबल गर्ने निर्णय गरेका हौं । यसमा सबैका साथ र सहयोगको अपेक्षा गरेका छौं ।’
दिउँसो १ बजे हुने भनिएको मैत्रीपुर्ण फुटबलको स्थानीय व्यवस्थापन डुडुवाको नवदुर्गा क्लबले गरेको छ । मैत्रीपुर्ण फुटबलले बाँके जिल्लाका खेलाडीहरुलाई नयाँ अवसर प्रदान गर्ने बाँके जिल्ला फुटबल संघका सदस्य तथा मैत्रीपुर्ण खेलको संयोजक दिपेन्द्र घलेले बताउनु भयो । उहाँले भन्नु भयो,‘मैत्रीपुर्ण खेलको सम्पुर्ण तयारी पुरा भएको छ । हामीले लामो समय पछि बाहिर जिल्लासँग मैत्रीपुर्ण फुटबल खेलिरहेका छौं । यसले बाँके जिल्लामा फुटबलको लोकप्रियतालाई बढाउन पनि सहयोग गर्नेछ ।’