करण चम्किदा नामिबियामाथि नेपालको रोमाञ्चक जित
Friday, March 1st, 2024, 3:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १८ फागुन
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो । अन्तिम ओभरमा नामिबियालाई १२ रन चाहिदा नेपालका करण केसीले ८ रन मात्र खर्चिए ।
यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो । अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । अब शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ । फाइनल मंगलबार हुनेछ ।
खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । दीपेन्द्रले १६औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौ विकेट लिए । दीपेन्द्रले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए ।
अर्को ओभरको पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो । त्यसअघि १५औं ओभरमा करण केसीले २३ रन खर्चिदा नेपालमाथि दबाब परेको थियो। तर दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरे ।
१८औं ओभरमा दीपेन्द्रले १८ रन खर्चिदा फेरि नेपालमाथि दबाब बढ्यो । दीपेन्द्रलाई जान ग्रिनले दुई चौका र रुबेन ट्रम्पलम्यानले एक छक्का प्रहार गरे । १९औं ओभरमा अभिनास बोहरालाई ट्रम्पलम्यान र ग्रिन मिलेर ११ रन प्रहार गरे । यो ओभरमा ग्रिनले दुई चौका हिर्काए । अन्तिम ओभरमा ४ विकेट बचेको नामिबियालाई १२ रन चाहिएको थियो ।
नेपालका लागि करण केसीले अन्तिम ओभर बलिङ गर्दा पहिलो बलमा एक रन दिए। दोस्रो बलमा पनि एक रन नै भयो । तेस्रो बल डट भयो। तर अर्को बल भने वाइड भयो। चौथो बलमा एक रन दिए । पाँचौ बलमा करणले ट्रम्पलम्यानलाई सन्दीप जोराबाट क्याच गराए। जसका कारण अन्तिम बलमा नामिबियालाई ८ रन चाहिएको थियो भने नेपाल जित नजिक पुगेको थियो । जसमा करणले अन्तिम बलमा चौका दिए ।
त्यसअघि नामिबियाका ओपनरद्वय माइकल भान १० रन र मालन क्रुगर ३ रनमा आउट भए । मालनलाई सोमपाल कामीले दोस्रो ओभरमा र भानलाई करण केसीले छैटौं ओभरमा आउट गरे । आठौं ओभरमा जेपी कोट्जे २५ रनमा विकेटकिपर आसिफ शेखबाट समातिए । बलिङमा नेपालका करण केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई दुई विकेट लिए ।