बाँकेमा ४० वर्षपछि व्यवसायीकरुपमा उखु खेती शुरु
Saturday, March 2nd, 2024, 6:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ फागुन
बाँकेमा ४० वर्षपछि व्यवसायीकरुपमा उखु खेती शुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं २ ए गाउँको २७ धुरी भन्ने ठाउँमा करिब ४० वर्षपछि व्यवसायीक रुपमा उखु खेती शुरु गरिएको हो । उखु खेतीका लागि बाँकेको जानकी गाउँपालिका वडा नं ३ को इन्दरगाउँ र खजुरा २ ए गाउँको २७ धुरीमा ५ सय कठ्ठामा उखु रोपाई कार्यक्रम संचालन गरिएको छ ।
व्यवसायीक उखु खेतीमार्फत स्वदेशमै गुड (भेली) तथा चिनी उत्पादन गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा उखु रोपाई शुरु गरिएको र त्यसपछि मिल नै संचालन गरेर अन्य उत्पादन गरिने संचालक साहिल कुरेशीले जानकारी दिनभुयो । ‘अहिलेलाई उखु रोपाई कार्यक्रम शुरु गरेका छौं,’ कुरेशीले भन्नुभयो, ‘यसपछि मिल लगाउने प्रक्रियामा जान्छौं ।’
एन पिजे एग्रिकल्चर इण्डष्ट्रिज प्रालिमार्फत करिब ५० लाख रुपैयाको लागतमा शुरु गरिएको यस व्यवसायमा कुरेशीको एकलौटी लगानी रहेको छ । स्वदेशमा रहेको जोखिमका बाबजुद आफुले अगाडी बढेको कुरेसीले बताउनुभयो ।
‘स्वदेशमै व्यवसाय गरेका म जस्ता धेरैले समस्याको सामाना गरिरहेका छन्,’ संचालक कुरेसीले भन्नुभयो, ‘तर कसै न कसैले गर्न त पर्छ नै, त्यसकारण यो शुरु गर्ने निधो गरेको छु, हेरौं के हुन्छ ।’ बाँकेमा कसैले यो कार्य नगरेकाले गरेर देखाउने आफुले आँट गरेको उहाँको भनाई छ ।
व्यवसायलाई सफल बनाउन बिज्ञहरुलाई साथमा लिएर उहाँहरुको सल्लाह सुझाव अनुसार अगाडी बढ्ने संचालक कुरेसीले बताउनुभयो । यो व्यवसायको पश्चिम नेपालमा प्रशस्त सम्भावना पनि रहेको संचालकको भनाई छ । हाल भारतबाट ९० प्रतिशत गुड (भेली) नेपाल भित्रिने गरेको छ ।
उद्योगमार्फत गुड तथा अर्गानिक चिनी पनि उत्पादन गरिनेछ भने स्थानीय किसानलाई पनि उखु खेतीतर्फ प्रेरित गर्ने तथा रोजगारी सृजना गरिने रहेको छ । उत्पादन शुरु भएसंगै स्थानीयलाई नै यहीँबाट बिउ बितरण गरिने पनि प्रालिले जनाएको छ । प्रालिले हाललाई खेतीका लागि बिरगञ्जबाट यसको बिउ ल्याएको छ ।