उपाधि जित्न असफल नेपाल ,नेदरल्याण्ड्स च्याम्पियन
Tuesday, March 5th, 2024, 3:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ फागुन
टी ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर ३ बल अगावै पुरा गर्यो ।
माइकल लेविटको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपालमाथि जित हासिल गरेको हो । लेविटले २९ बलमा ५४ रन बनाए । उनले ६ चौका र ३ छक्काको मदतले सो रन बनाएका थिए । साइब्रान्ट एन्गेलब्रेक्टले ४८ रनको योगदान गरे । बिक्रमजीत सिंहले २९ र मेक्स ओडाडले २२ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरोले समान एक एक विकेट हात पारे ।
…………
टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाएका थिए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले । कप्तान रोहित पौडेलले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए ।
दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुदाँ करन केसी ९ र आरिफ शेख शुन्य रनमा पोविलियन फर्किए । सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा अविजित रहे । डच टिमका माइकल लेविट, फ्रेड क्लासेन, टिम वान डेर र साइब्रान्ड एनगेलब्रेक्टले समान २–२ विकेट हात पारेका थिए । विश्वकप लिग टू नेपाल आएर नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो । टी ट्वान्टी त्रिकोणात्मक सिरिज नेपालले यस वर्ष खेल्ने विश्वकप तयारीको सुरुवात समेत हो ।