लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त
Wednesday, March 6th, 2024, 2:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ फागुन
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन् । मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए । मुख्यमन्त्री चौधरीले दुई मन्त्रीलाई हटाएको जानकारी दिए । माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
माओवादी संसदीय दल नेता जोखबहादुर महराले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको जानकारी दिए । चौधरी गत वैशाख १४ गते नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
चौधरीलाई त्यतिखेर माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राजमो, एकीकृत समाजवादी लगायतको विश्वासको मत दिएका थिए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको साथ चाहिन्छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति र जनमतका ४-४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३-३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्रबाट १ सांसद छन् ।