हालसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार जना प्रहरीको कारबाहीमा
Monday, August 17th, 2020, 5:00 pm
amit
काठमाण्डौ, १ भदौ । देशभर हालसहम्म मास्क नलगाई बाहिर हिँड्ने चार लाख १९ हजार ५३८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार नियन्त्रणमा लिइएकालाई सडकमा उभ्याउने र मास्कको महत्वबारे बुझाउने र केही जरिवाना गराइएको छ । त्यस्तै अटेर गर्नेलाई भने संक्रामक रोग निवारण ऐन अन्तर्गत कारबाही गरिएको प्रहरीले जानकारी पनि दिएको छ ।
गृह मन्त्रालयका अनुसार नेपालका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत मास्क प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिने प्रक्रिया अघि बढाएकोे छ ।
यसैगरी साउन महिनाको अन्त्यसम्म देशभर ४ लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गरिएको तथा तीमध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिँड्न सम्झाएर पठाउनुका साथै उनीहरूलाई मास्कसमेत वितरण गरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २५ हजार २०७ जनालाई प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जरिवानासमेत गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यका भित्रने खोज्ने २७ हजार ११८ वटा सवारी साधनलाई नाकाबाटै फर्काइएको छ भने उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौंमा पाँच र ललितपुर र भक्तपुर जिल्लामा चार÷चार वटा अनुगमन समिति बनाई मल, भिडभाड हुने क्षेत्रमा अनुगमन जारी रहेको छ ।