पोखरामा सोमबार रातिदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा जारी
Monday, August 17th, 2020, 5:59 pm
amit
पर्वत, भदौ १ । समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि सङ्क्रमणलाई महामारीको रुपमा जान नदिन कास्कीको पोखरा महानगरपालिकामा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
यसैगरी आम नागरिकले महानगरपालिका मेयर मानबहादुर जिसी, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, वडाध्यक्ष लगायतका जनप्रतिनिधि र कर्मचारीहरूलाई समेत कडा लकडाउन गर्न माग गरेका थिए ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको पोखरा महानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले बताएका छन् ।
महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले भदौ ८ गतेसम्म कायम राख्ने गरी निर्णय गरेर निषेधाज्ञा लागू गरेको हो । तत्कालका लागि एक हप्ताका लागि तोकिएको निषेधाज्ञा सङ्क्रमणको अवस्था हेरेर थप गर्ने वा नगर्ने विषयमा पछि नै निर्णय हुने छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार सो निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरू सबै पसल बन्द रहने छन् भने तोकिएका कामका लागि बाहेक आम नागरिक घर बाहिर निस्कन पाउने छैनन् । यसैगरी स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैन ।