नेपालगन्ज–२१ मा एक युवकको घाँटी रेटेर हत्या
Sunday, March 31st, 2024, 5:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ चैत
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२१ विर्तामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय अन्दाजी २२ वर्षीय युवक मोहम्मद अरबी खाँको हत्या गरिएको अवस्थामा आईतबार विहान १० बजेतिर शव फेला परेको हो ।
उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसपी डाँगीले बताए । उनको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ । घटना गएरातीको भएपनि प्रहरीले घटनाबारे विहानमात्रै थाहा पाएको थियो ।
मृतक अरबी त्यहाँ कसरी पुगे, किन पुगे भन्ने लगायतका विषयमा अनुसन्धान अघि बढाईएको छ । घटना अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको थियो । प्रहरीका अनुसार उनलाई अपहरण गरिएको थियो या थिएन, घटनामा संलग्न ब्यक्तिहरु कोको हुन् भन्ने लगायतका विषयमा अनुसन्धान थालिएको सेतोखरीलाई जानकारी दिए ।
अरबी नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २१ का पूर्व वडाअध्यक्ष रञ्जित खाँका नाती भएको खुलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।