मासु पसलको अनुगमनलाई गर्दै नेपालगन्ज उप–महानगरपालिका
Sunday, March 31st, 2024, 8:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ चैत
नेपाल–भारत खुला सिमानाका कारण नेपालगन्जमा अवैध रुपमा मासुहरु भित्रिरहेको गुनासो आएपछि नेपालगन्जमा अनुगमनलाई तिव्र पारिएको छ । नेपालगन्ज उप–महानगरपालिकाले अहिले नगरका विभिन्न पसलहरुमा गएर अनुगमन गर्ने गरेको छ ।
एक साता अघि नेपालगन्जको एक मासु पसलमा अवैध मासु फेला परेको थियो । त्यसपछि नेपालगन्ज उप–महानगरले मासु पसलहरुको अनुगमनलाई निरन्तरता दिएको छ । आइतबार पनि मासु पसलहरुको अनुगमन गरिएको छ ।
वडा नम्बर १ का आधा दर्जन मासु पसलमा अनुगमन गरिएको हो । त्यस अघि शुक्रबार वडा नम्बर ४ का आधा दर्जन मासु पसलमा अनुमगन गरिएको थियो ।
स्वास्थ्य मापदण्डलाई पालना गराउनको लागि अनुगमनलाई निरन्तरता दिने पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनु भयो । आइतबार नेपालगन्जका पाराहान केसी फ्रेस हाउस, थापा मासु पसल, आदित्त फ्रेस हाउस, पोखरेल फ्रेस हाउस र एस.एम फ्रेस हाउसमा अनुगमन गरिएको थियो ।
धम्बोझी क्षेत्रका ती मासु पसल अनुगमन गरिँदा कतिपयले साइनबोर्ड समेत राखेका छैनन् भने अधिकांशमा मूल्यसूची छैन । एउटा पसल दर्ता समेत नगरेको पाइएको छ ।
कतिपय पसलमा सरसफाईको कमी समेत देखिएको छ । त्यस्ता पसललाई सजग बनाइएको छ । सिसाको फ्रेम प्रयोग गर्न, आवश्यक कागजपत्र देखिने गरी राख्न, नवीकरण नगरेकालाई एक हप्ताभित्र नवीकरण गर्न, भर्खर सञ्चालनमा आएकालाई ब्यवसाय दर्ता गर्न समय दिइएको पशु सेवा शाखा प्रमुख शाहीले बताउनु भयो ।
अनुगमन टोलीमा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, पशु प्रजनन कार्यालयका पशु चिकित्सक डा. मिलनकुमार चौधरी, पशु सेवा शाखा प्रमुख शाही, पशु सेवा शाखाका अच्युत गौतम, रिता राना, नेपालगञ्ज उप–महानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी लगायत सहभागी हुनुहुन्थ्यो ।