वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो
Thursday, April 4th, 2024, 11:50 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ चैत
वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा घटेको देखिएको हो । गत साउनदेखि फागुन मसान्तसम्ममा चार लाख ६८ हजार १३५ जना नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागको तथ्याङ्क अनुसार गत साउनमा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका थिए । जसमा पुनः श्रम स्वीकृति लिएकाहरूको तथ्याङ्क समावेश गरिएको छ । त्यस्तै भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार, २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएको विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको साउददेखि फागुनसम्म ८ महिनामा पाँच लाख ४० हजार ६७५ जना नेपाली विदेश गएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा ७२ हजार ५४० जना कम हो । फागुनमा विदेशिए ६५ हजार नेपाली फागुन महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६५८ जना श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
जसमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् । ३९ हजार ९२० जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् । ३१ हजार ८९८ जनाले संस्थागत श्रम स्वीकृति (मेनपावरमार्फत) लिएर विदेश गएका छन् । सात हजार ४४७ जनाले व्यक्तिगत श्रम स्वीकृति, ५७५ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।
एक महिनाको अवधिमा ८५ जना उच्च दक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ३४९ प्रोफेसलन, पाँच हजार १६० जना अर्धदक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ४७ हजार ५७७ जना दक्ष र १२ हजार ४८७ जना अदक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको विभागको तथ्याङ्कले देखाएको छ ।