विश्वासको मत नलिई लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी
Thursday, April 4th, 2024, 3:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २२ चैत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने भएका हुन् ।
मुख्यमन्त्री चौधरीले आज दिउँसो ४ बजे संसद्मा विश्वासको मत लिने कार्यसूची थियो । त्यसका लागि उनले अन्य दलहरूसँग सहकार्य गरेर विश्वासको मत लिने तयारी गरे पनि जसपा नेपाल लगायतका दलहरूले विश्वासको मत नदिने भएपछि राजीनामा दिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री चौधरीले भने, ‘छलफलमा छु तर राजीनामा दिनुपर्ने हुन्छ होला । गठबन्धनका कारण बहुमत नपुग्ने भएपछि साथीहरूबाट पनि राजीनामा दिनुपर्ने आवाज आएको छ, सायद त्यस्तै हुन्छ होला ।’ उनले प्रदेशसभा बैठकमा विश्वास मतको प्रस्ताव नराखी सिधै सम्बोधन गरेर राजीनामा दिने बुझिएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
यहाँ कांग्रेसका २७ सांसद छन् । कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भएपनि विश्वासको मत पाउनका लागि आवश्यक सांसद संख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन् ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन् ।
सत्ता गठबन्धनले लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरिसकेको छ । माओवादी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्रीका लागि उम्मेदवार छन् । रोल्पाबाट निर्वाचित महराले गठबन्धनको निर्णयअनुसार आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालिसकेका छन् ।