लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
Thursday, April 4th, 2024, 5:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, २२ चैत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले जानकारी दिए ।
मुख्यमन्त्री चौधरीले सरकार टिकाउन साना दललाई सरकारमा प्रवेश गराएपनि अन्ततः उनले बहुमत जुटाउन सकेनन् । अन्तिम समयमा जसपाबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि उनको बहुमत जुट्ने सम्भावना टरेको थियो । त्यसलगत्तै चौधरीले राजीनामा दिएका छन् ।
यसअघि लुम्बिनीमा तीनवटा सरकार बने । २०७४ को फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीमा शङ्कर पोखरेल नियुक्त भएका थिए । एमाले र माओवादी एकीकृत भई नेकपाकालमा बनेको उनको सरकार पार्टी विभाजनसँगै २०७८ साउन २७ गतेसम्म ढलेको थियो ।
त्यसलगत्तै साउन २८ गते कांग्रेसको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले २०७९ पुससम्म सरकारको नेतृत्व गरेका थिए । त्यसपछि ठुलो दलको हैसियतमा एमाले संसदीय दलका नेता लीला गिरी २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भए । उनलाई माओवादी केन्द्रसहितका दलको समर्थन थियो ।
केन्द्रमा भएको गठबन्धन परिवर्तनपछि गिरीको सरकार ०८० वैशाखमा ढलेको थियो । कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी ०८० वैशाख १४ गते माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । लुम्बिनीको पाँचौँ मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुने भएका छन् । उनलाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।