समाचार रोक्न एसपी बोहराले दिए पत्रकारलाई दबाब
Thursday, April 4th, 2024, 7:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ चैत
सद्भाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचार हटाउन जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपी सुवास बोहराले पत्रकारलाई दबाब दिएका छन् ।
सद्भाव दैनिक र सेतोखरीमा एसपी बोहराले तस्करबाट रकम उठाउने गरेको समाचार प्रकाशित भएको थियो । उक्त समाचारको विषयलाई लिएर एसपी बोहराले आफुलाई धम्की दिएको सद्भाव दैनिकका प्रकाशक तथा सम्पादक दामोदर भण्डारीले बताउनु भयो ।
आफु निकटका विभिन्न व्यक्ति तथा पार्टीका नेताहरुलाई फोन गर्न लगाएर समाचार हटाउन एसपी बोहराले धम्की दिइरहेको भण्डारीले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका भण्डारीलाई समाचार रोक्न दबाब दिएपछि बिहिबार बाँके जिल्लामा रहेको विभिन्न पत्रकारहरुको संगठनको आकस्मिक बैठक बसेको छ ।
एसपी बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दवावप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको गर्दै समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेको व्यक्तिले प्रदर्शन गरेको व्यवहार संविधान प्रदत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी रहेको बैठकले ठहर गरेको छ ।
आकस्मिक बैठकले यो लगायत पछिल्ला दिनमा राज्यका निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्तरुपमा प्रतिवादन गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणको लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।
छलफलमा महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋणी चौलागाई, पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व अध्यक्ष निरज गौतम, पूर्व अध्यक्ष रुद्र सुवेदी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासंघका पदाधिकारी एवं सदस्यहरु सहभागि थिए ।
बैठकले बिहीवारको छलफलका आधारमा थप धारणा सार्वजनिक गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ ।