बरोडासँग नेपाल ३७ रनले पराजित
Friday, April 5th, 2024, 5:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ चैत
भारत भ्रमणमा रहेको नेपाल एसएमएस फ्रेन्डसिप कपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनसँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल ३७ रनले पराजित भएको हो । बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्रै बनायो ।
यद्यपि, नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले आफ्नो उत्कृष्ठ लयलाई समात्दै बरोडालाई २७ रनले पराजित गरेको थियो ।
बुधबार सम्पन्न तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो। मुख्य प्रशिक्षक मोन्टी देसाईंले बरोडाविरुद्धको खेलमा नियमित कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, अभिनाष बोहरा र आशिफ शेखलाई आराम दिइएका थिए ।
नेपालको कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५६ रन बनाए । ४३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । विवेककुमार यादव १७ र कुशल भुर्तेल १६ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बरोडाका ध्रुव पटेलले सर्वाधिक ४ विकेट लिए । लक्षित टोक्सिया ३ र जय आभालेले २ विकेट लिँदा हेमन्त पुण्डेको नाममा १ विकेट रह्यो । त्यसअघि गुजरातको वापीमा टस जितेर पहिला ब्याटिङ थालेको बरोडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
बरोडाका आश्वत रावतले सर्वाधिक ३१ रन बनाए । २७ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे । ध्रुव पटेल २९,अमित पासी २६, मोहित मोंगिया २२ र अभिमन्यूसिंह राजपूत ११ रनमा आउट हुँदा हेमन्त पुण्डे ६ रनमा अविजित रहे ।
नेपालका करण केसी र गुल्शनकुमार झाले २÷२ विकेट लिए । प्रतिश जीसी, ललितनारायण राजवंशी र आकाश चन्दको नाममा १÷१ विकेट रह्यो ।